• १२ असोज २०८१, शनिबार

केयूमा विद्यार्थी भर्नादर १५ प्रतिशतले बढ्यो

blog

काठमाडौं विश्वविद्यालय (केयू)

केदार तिमल्सिना
बनेपा, माघ १७ गते ।
नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशिने क्रम बढे पनि काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) मा पछिल्लो दुई वर्षदेखि विद्यार्थी भर्नादरमा वृद्धि भएको छ । विश्वविद्यालयले विद्यार्थी भर्ना दर बढ्ने क्रममा पछिल्लो शैक्षिक सत्र २०२३/०२४ का लागि विगतको तुलनामा १५ प्रतिशतले विद्यार्थी भर्नादर बढेको जनाएको छ ।

काठमाडौं विश्वविद्यालय विद्यार्थी भर्ना निर्देशनालयको तथ्याङ्क अनुसार शैक्षिक सत्र सन् २०२२/०२३ मा कुल पाँच हजार ८९८ विद्यार्थीको सिट क्षमता भएको केयूमा करिब ७२ प्रतिशत अर्थात् चार हजार दुई सय विद्यार्थी मात्रै भर्ना भएका थिए । चालु शैक्षिक सत्रमा छ हजार १८६ जना विद्यार्थीको सिट क्षमता रहेको केयूमा ८७ प्रतिशत अर्थात् करिब पाँच हजार तीन सय विद्यार्थी भर्ना भएको निर्देशनालयका सहनिर्देशक ब्रजेश मिश्रले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष स्कुल अफ आर्टस्मा सिट क्षमताको ७३ प्रतिशत, स्कल अफ एजुकेशनमा ९२ प्रतिशत, स्कुल अफ इन्जिनियरिङ्मा ८८ प्रतिशत, स्कुल अफ ल मा शत प्रतिशत, स्कुल अफ मेनेजमेन्टमा ७९ प्रतिशत, स्कुल अफ मेडिकल साइन्समा ९१ प्रतिशत र स्कुल अफ साइन्समा ८७ प्रतिशत भर्ना भएको बताउनुभयो । गत शैक्षिक सत्र २०२२/०२३ मा स्कुल अफ आर्टस्मा सिट क्षमताको ५४ प्रतिशत, स्कल अफ एजुकेशनमा ५४ प्रतिशत, स्कुल अफ इन्जिनियरिङ्मा ७५ प्रतिशत, स्कुल अफ ल मा ९५ प्रतिशत, स्कुल अफ मेनेजमेन्टमा ७५ प्रतिशत, स्कुल अफ मेडिकल साइन्समा ८५ प्रतिशत र स्कुल अफ साइन्समा ५९ प्रतिशत मात्रै भर्ना भएका थिए । शैक्षिक सत्र सन् २०२१/०२२ मा विश्वविद्यालयमा कूल सिट क्षमताको ७० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको तथ्याङ्क रहेको छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापाले पछिल्लो दुई वर्षदेखि विश्वविद्यालयमा विद्यार्थी भर्ना दर बढेको बताउनुभयो । उहाँले विश्वविद्यालयले आफ्ना कार्यक्रमहरुको बारेमा विभिन्न माध्यमबाट प्रचारप्रसार, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिइने छात्रवृत्तिमा बढावा, विश्वविद्यालयमा स्नातक तहको हरेक सङ्कायमा सर्वोत्कृष्ट (टप) विद्यार्थीका लागि एक वर्ष रोजगारी उपलब्ध गराउनेलगायतका सुविधा उपलब्ध गराएसँगै विद्यार्थी भर्नादर बढेको बताउनुभयो । उहाँले स्वदेशमा नै विद्यार्थी टिकाउनुपर्छ भन्ने अभिप्रायले विश्वविद्यालयले विद्यार्थी आकर्षित गर्नका लागि विभिन्न योजना अघि बढाएको बताउनुभयो । उपकुलपति प्राडा. थापाले विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने, विश्वविद्यालयको शैक्षिक क्यालेण्डरको सही प्रयोगलगायतको काम गर्दै आएको बताउनुभयो । विश्वविद्यालय भर्ना निर्देशनालयका सहनिर्देशक मिश्रले विश्वविद्यालयले स्नातक तहमा सङ्काय टप गर्ने विद्यार्थीलाई विश्वविद्यालयले एक वर्षका लागि अधिकृत तहमा नेपाल सरकारले तोकेको तलबमानमा १० प्रतिशत प्रोत्साहन रकम थप गरी रोजगारी उपलब्ध गराउन सुरु गरेको बताउनुभयो ।

उहाँले विश्वविद्यालयले यस वर्षका लागि विश्वविद्यालयका विभिन्न सङ्कायमा टप गर्ने करिब ८० जना विद्यार्थीलाई रोजगारीको प्रस्ताव गरिएकोमा १८ जनाले मात्रै काम सुरु गरेको बताउनुभयो । मिश्रले ६०/६० जनाको सिट क्षमता रहेको सिभिल इन्जिनियरिङ र कम्प्यूटर साइन्समा एघार सय र चौध सय विद्यार्थीको आवेदन परेपछि चालु शैक्षिक वर्षमा लागि इन्जिनियरिङ परिषद्बाट थप ६०/६० जनाको सिट क्षमता बढाइएको बताउनुभयो ।

उहाँले सन् २०१९ मा देखिएको कोभिडपछि बिद्यार्थीहरु विभिन्न वहानामा विदेशिने क्रम बढेसँगै केयूमा विद्यार्थी भर्ना दरमा कमी देखिए पनि पछिल्ला वर्षहरुमा भर्ना दर बढेको बताउनुभयो । केयूले हाल दुई सयभन्दा बढी कार्यक्रम सञ्चालन, पाँच सय भन्दा बढीलाई छात्रवृति, हालसम्म ४३ हजार बढी विद्यार्थी उत्पादन, केयू र अन्य सम्बन्धन प्राप्त २२ कलेजहरुमा गरी हाल १८ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।