• १४ असार २०८१, शुक्रबार

विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप

blog

चैतन्य स्टिम वर्कसप उद्घाटनमा शुभकामना मन्तव्य दिनुहुँदै मन्त्री रमेशसिंह धामी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, माघ १६ गते । 
विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि धनगढीमा आजबाट चैतन्य स्टिम वर्कसप सुरु भएको छ । 

धनगढीस्थित चैतन्य पाठशालाले वर्कसपको आयोजना गरेको हो । एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले त्यसको उद्घाटन गर्नुभयो ।

सो क्रममा मन्त्री धामीले विज्ञान र प्रविधिको विकासका लागि काम गरिरहेको चैतन्य पाठशालासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयले विज्ञान तथा प्रविधिसमेत हेर्ने गरेको जनाउँदै विज्ञान तथा प्रविधिको विकासमा खासै केही गर्न नसकेको स्वीकार गर्नुभयो ।

मन्त्री धामीले विज्ञान तथा प्रविधिमा रुचि राख्ने सुदूरपश्चिमका धेरै विद्यार्थीले विभिन्न चिजको आविष्कार गरेको भन्दै प्रोत्साहनका लागि उनीहरूलाई प्रदेश सरकारले सम्मान गर्ने बताउनुभयो । मन्त्रीले भन्नुभयो, “विज्ञान प्रविधिमा प्रदेशलाई कसरी हब बनाउन सकिन्छ ? त्यसतर्फ हाम्रो ध्यान जानु पर्दछ ।”

एक हप्तासम्म आयोजना हुने सो वर्कसपमा विद्यार्थीलाई रकेट विज्ञान, सेटेलाइट निर्माण, ड्रोन, अहिलेको प्रविधि र ज्ञानको कुराबारे सिकाइने जनाइएको छ । विद्यार्थीलाई राष्ट्रिय आविष्कार केन्द्रमा काम गरिरहेका वैज्ञानिकले प्रशिक्षण दिनेछन् । प्रविधिलाई शिक्षासँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै चैतन्य पाठशालाका प्रिन्सिपल कटक सिंहले एक हप्तासम्म विद्यार्थीलाई विज्ञान तथा प्रविधिको बारेमा प्रशिक्षण दिइने बताउनुभयो । 

विद्यालयहरूले शैक्षिक गुणस्तरसँगै संस्कार र प्रविधिमा जोड दिन आवश्यक रहेको भन्दै ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले अब प्रविधिबिनाको मानिस अनपढ सरह नै रहने उल्लेख गर्नुभयो । हाम्रो शिक्षा युग सुहाउँदो र पृथक् हुन जरुरी रहेको उहाँको भनाइ थियो ।

वर्कसपले विद्यार्थीलाई नविनतम् कुरा सिक्न र आविष्कारमा लाग्न प्रेरित गर्ने जनाइएको छ । अब ज्ञान र विज्ञानलाई ‘फ्युजन’ गर्न सकेमात्रै मुलुक समृद्ध बनाउन सकिने कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले बताउनुभयो ।

अहिलेको युग सृजना र नवप्रर्वनको रहेको जनाइएको छ । यस अनुसार चल्न नसके मानिस पछाडि पर्ने चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको ठहर छ । उहाँले स्मार्ट फोनमात्रै बोकेर नहुने उल्लेख गर्नुहुँदै पढाइको पद्धति पनि स्मार्ट हुनु पर्नेमा जोड दिनुभयो । पढाइलाई स्मार्ट बनाउन आफ्नो विद्यालयले स्मार्ट बोर्ड प्रयोगको थालनी गरिरहेको उहाँको भनाइ थियो । चैतन्य स्टिम वर्कसपमा धनगढीका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ ।