• ९ असार २०८१, आइतबार

वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव

blog

फाइल तस्बिर

कञ्चनपुर, माघ १६ गते । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वनविज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्रीकाे अभाव  छ । विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो । 

विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताउनुभयो । “प्रयोगात्मक सामग्री अभाव हुँदा विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने कार्यमा अप्ठेरो परिरहेको छ”, उहाँले भन्नुभयो, “निकै लामो समयदेखि माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन ।”

उहाँका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्य सिकाउनका लागि रेन गेज, साभेल, माइक्रोस्कोप, ओभन, क्लिनोमिटर, चेनस, पोलि हाउस, चेन, ट्री क्यालिपर, डाइमिटर टेप, स्पिडो मिटर, स्पिडे, स्नोभेल, वाइनाकुलरलगायत सामग्रीकाे अभाव छ । विद्यालयसँग फरूवा, कोदालो, स्मार्ट बोर्ड, बन्चरोलगायत सामग्री भए पनि ती पनि पर्याप्त मात्रामा नरहेको उहाँँले बताउनुभयो । 

सामग्री अभाव भएपछि विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध आउन थालेको उहाँको बुझाइ छ । नगरपालिका कार्यालयसँग अभाव रहेका सामग्रीको व्यवस्था गरिदिनका लागि माग गरिँदै आए पनि उपलब्ध हुन नसकेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताउनुभयो । “विद्यालयसँग सीमित साधन स्रोत छ”, उहाँले भन्नुभयो, “आन्तरिक आम्दानी छैन, अभाव भएका सामग्रीका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सामग्री उपलब्ध गराउने अश्वासन पाइने गरे पनि हालसम्म उपलब्ध भने भएका छैनन् ।”

वि.सं.२०७६ देखि तीनवर्षे वनविज्ञान कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत वन विज्ञानमा भर्ना भएर ३१ छात्र र २५ छात्रा अध्ययन गर्दै आएका छन् । विद्यालयमा वनविज्ञान पढ्ने विद्यार्थीका लागि भौतिक पूर्वाधार भने पर्याप्त छ । छात्र र छात्राका लागि सुविधासम्पन्न छुट्टाछुट्टै  छात्रावास छन् । छात्रावासका प्रत्येक कोठामा स्नानागार तथा शाैचालयको व्यवस्था छ । छात्रावासमा ११ छात्र र सात छात्रा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयको छुट्टै ब्लकका तीन कोठामा पठनपाठनको कार्य हुँदै  आएको छ । रासस