काठमाडौं, माघ १६ गते । मन्त्री उपस्थित हुन नसकेपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।
मङ्गलबार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा अनुपस्थित भएसँगै स्थगित गरिएको हो ।
बैठकमा विधेयक सम्बन्धमा छलफल गर्न संसद नियमावलीमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार समितिमा छलफलका लागि आमन्त्रित सांसद रघुजी पन्तले मन्त्रीको उपस्थिति बिना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति भानुभक्त जोशीलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
समिति सभापतिलाई सांसद पन्तले संसद् नियमावलीको १७८ को दफा ४ हेर्न आग्रह गर्नुभएको थियो । उहाँले मन्त्री बिना समिति बैठक चल्न नसक्ने अडान लिएसँगै सभापति जोशीले सञ्चारमन्त्री अस्वस्थ भएका कारण बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराउनुहुँदै बैठक स्थगित भएको सांसदहरुलाई जानकारी गराउनु भयो ।
प्रतिनिधि सभा नियमावली २०७९ को १७८ को (४) मा समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था छ । अन्य कार्यसूचीमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ ।