• २१ वैशाख २०८१, शुक्रबार

घाममै बसेर परीक्षा दिँदै विद्यार्थी

blog

भाइबहिनीहरू यतिबेला उत्तरी हुम्ला आसपासमा निकै चिसो बढेको छ ।  विद्यालय जान त सम्भव नै भएन । यतिबेला  यहाँका विद्यार्थी घाममै  बसेर वार्षिक परीक्षा दिँदैछन् । विद्यालयले घाममा बसेर परीक्षा दिने व्यवस्था गरिदिएपछि विद्यार्थी खुसी पनि छन् । 

सिमकोट गाउँपालिका–८ को साँता गाउँको बलभद्र आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा जानकी बुढाले पुस १६ गतेबाट सञ्चालन भएको वार्षिक परीक्षा घाममा बसेर दिन पाएपछि लेख्न सहज भएको बताइन् । चिसोले परीक्षा बिग्रेला कि भन्ने चिन्ता बुढालाई थियो । उनले पहिलो दिनको परीक्षा कोठामा दिन सुरु गरेको तर चिसोले विद्यार्थीले लेख्न नसक्ने अवस्था आएपछि बिचैमा विद्यालयले घाममा बसेर परीक्षा दिने व्यवस्था गरेका कारण सहज भएको बताइन् ।

 यो विद्यार्थीको रहर नभएर बाध्यता पनि हो । कोरोना अवधिबाहेक अन्य बेला सधैँ मङ्सिर अन्तिमतिर परीक्षा दिई रहने विद्यार्थीलाई यस पटक भने गाउँपालिकाले पुस १६ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय अनुसार यतिबेला परीक्षा दिनु परेको हो । विद्यालयका प्रधानाध्यापक प्रेमकला बुढाले यसपालि चिसो निकै बढेका कारण वार्षिक परीक्षा घाममा दिने व्यवस्था गर्नुपर्ने बाध्यता आइलागेको भनाइ छ । यसरी परीक्षा दिने व्यवस्थाका कारण विद्यार्थीले लेख्न सहज भएको हो । उक्त विद्यालयमा कक्षा ४ देखि ६ सम्म डेढ सय विद्यार्थीले यसरी घाममा बसेर परीक्षा दिइरहनुभएको छ । 

कक्षाकोठामा रहेका डेस्कबेन्च बाहिर निकालेर विद्यालयको चौरमा राखेर परीक्षा दिने व्यवस्था गरिएको हो । त्यसै गरी सैपाल माविले पनि चिसोका कारण घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालय प्रधानाध्यापक देवबहादुर बुढाले जानकारी दिए । यी दुवै विद्यालय हिउँदेयाममा कम घाम लाग्ने विद्यालयमा पर्छन् । उक्त विद्यालयमा कक्षा ४ देखि १० सम्म तीन सय विद्यार्थीले यसरी घाममा बसेर परीक्षा दिँदै आएका छन् । जिल्लाका अन्य गाउँपालिकाका विद्यालयले भने मङ्सिर महिनामै परीक्षा सञ्चालन गरिसकेका छन् । ती विद्यालयमा हाल पठनपाठन भने बन्द गरिएको छ ।  

  

Author

राजन रावत