• ८ असार २०८१, शनिबार

आहा रारा गोल्ड कप : सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै आर्मी र सङ्कटाका खेलाडी । तस्बिर सौजन्य : सुदर्शन रञ्जित

लेखनाथ समाचारदाता

लेखनाथ, माघ १४ गते । साबिक विजेता सङ्कटामाथि सहज निकाल्दै त्रिभुवन आर्मी क्लब २३औँ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आइतबार भएको खेलमा आर्मीले सङ्कटालाई ३-० गोलले हरायो । आर्मीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा कप्तान भरत खवासको पासमा जिलेस्पीजंग कार्कीले गोल गर्नुभएको थियो । कार्कीले सुन्दर हेड गर्दै गोल गरेपछि आर्मीले खाता खोलेका थियो । आर्मीले दोस्रो गोल भने पेनाल्टीमा ग¥यो । ४९ औँ मिनेटमा पाएको पेनाल्टीलाई दिनेश हेमजनले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । 

यसअघि हेमजनले गरेको प्रहार सङ्कटाका कुलदीप कार्कीले बचाउ गर्ने क्रममा हातमा लागेपछि आर्मीले पेनाल्टी पाएको थियो । आर्मीले तेस्रो गोल ७६औँ मिनेटमा गरेको थियो । हेमजनले जिलेस्पीजंग कार्कीको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभएको हो ।

आर्मी र सङ्कटाबिचको प्रतिस्पर्धापूर्ण खेल हेर्न अघिल्लो दिनको तुलनामा उल्लेख्य दर्शक पोखरा रङ्गशाला पुगेका थिए । खेलमा गोल गर्ने केही पाएपनि दुई पटकको आहा रारा विजेता सङ्कटा यसपालि पहिलो खेलमै पराजित भई घर फर्किएको छ ।

आहा रारामा अहिलेसम्म चार पटक फाइनले खेलिसकेको आर्मीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । भरत खवासको कप्तानीमा रहेको आर्मी प्रिक्वाटरमा नवलपरासीको राइजिङ स्टार क्लबलाई १–० ले पराजित गर्दै क्वाटर फाइनल पुगेको थियो ।

सङ्कटाले प्रतियोगिताको पहिलो चरणमा बाई पाउँदै सिधै क्वाटर फाइनल खेलेको हो । नेपालको राष्ट्रिय टिम फुटबल टिमबाट खेलिसक्नुभएका आर्मीका कप्तान भरत खवाससहित अहिले राष्ट्रिय टिममा रहनुभएका जिलेस्पीजंग कार्की र दिनेश हेन्जन लगायतका खेलाडी रहेको आर्मी अब उपाधि इतिहास रच्ने दाउमा छ । 

प्रतियोगितामा आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाईजबिचको विजेतासँग माघ १८ गते खेल्नेछ । शनिबार भएको पहिलो क्वाटर फाइनलबाट थ्रिस्टार क्लब पाहुना टोली पारो एफसीलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ । सोमबार जवलाखेल यूथ क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने सामने हुँदैछन् । यो खेलको विजेतासँग थ्रिस्टारले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।