बढ्दै गएको उमेरसँगै आफ्नै अतीतलाई सम्झिँदै जाने हो भने रोमाञ्चित बन्नुपर्ने अनेकौँ प्रसङ्ग छन् उहाँसँग । जोश र जाँगर अहिले पनि त्यत्तिकै छ, ४५ वर्ष पुरानो मधुमेहले बेलाबखत दुःख नदिँदो हो त सव्रिmय भएर लेख्न र कुद्न अझै उत्साह छ उहाँमा । दुई वर्षको कलिलो उमेरमै पक्षाघातले आघात पारेको देबे्र हातले पनि रोक्न सकेन उहाँको जाँगर र साधनालाई निरन्तर । १४ वर्षको उमेरदेखि लेख्दै आएको ८८ वर्षको उमेरसम्म छाया जस्तै बनेको छ लेखन, साथ नछुट्ने, निरन्तर । लेख्न पनि तीन दर्जन कृति पुगिसके विविध विधाका । कविता–काव्य, कथाका कृति प्रकाशमा आएर सर्जक बनेको छविमा पछिल्ला दशक साधक बनेर सम्मानित बनेको छ । जीवनमा के चाहिँ नै गरिएन र हो ? आफैँ आफैँलाई प्रश्न गर्दा पनि उत्तर दिन धेरै समय खर्चिनुपर्ने अवस्था । 
दुब्लो ज्यान, हँसिलो अनुहार, मधुमेहले कमजोर बनाएको शरीर, शालीनता र सरलताले श्रद्धेय लाग्ने आरडी प्रभास चटौत एक एक गरेर जीवनको पोयो खोल्दै जानुहुन्छ । सुनी साध्य छैनन्, टिपी साध्य छैनन्, नछोएको कुनै क्षेत्र नै नभए जस्तो । जे जति क्षेत्रमा लागिपरे पनि आखिर साहित्यले बाँच्न सिकायो, साहित्यले नै चिनायो, साहित्यले नै सम्मानयोग्य व्यक्तित्व बनायो ।
उहाँ पनि यसै भन्नुहुन्छ– जे जति काम गरिए पनि, लागे पनि मलाई साहित्यमै सन्तोष लागेको छ । साहित्यमा नलागेको भए २५ वर्षअघि सरकारी जागिरबाट निवृत्त भएपछिको उमेर सायद म बाँच्दिनँ थिएँ हुँला । वाङ्मय क्षेत्र नै हो मलाई ऊर्जा दिने । यसपछिको समयमै प्रकाशमा आए मेरा शब्दकोश र महाकाव्य र यसैबाट बढी प्रचारित बन्न पुगेँ ।
उमेर बढेसँगै कृति बढ्दै छन्, थकाइ मारेर बस्ने उमेरले फुर्सद पाउँदैन, लेखन, अध्ययन, भेटघाट, सरसल्लाह आदिले बितेको छ जीवनको घडी पला । आफैँले जीवनमा पहिले २०३७ मा लेखेको कृतिको नाम जस्तै ।
अचेल आफ्नै जीवनवृत्त लेखनमा बित्छ समय । चार सय पेज लखिसकेँ, अझै दुई सय पेज लेखिएला । उहिलेका कुरा गर्दै उहाँ अहिलेको कुरा गर्नुहुन्छ आफ्नै लेखनका सन्दर्भमा । २०३७ सालमा जीवनका घडी पला–२०३७, पोखरा–२०४६, यौटा स्वर–२०४६, बुढाको भइसक्यो बास–२०४६, महामानव बिपी कोइराला–२०४६ (कविता सङ्ग्रह), लुकेर हेरुँ कि–(खण्डकाव्य) २०३८, चटौत सूक्ति सुधा–२०३९, लडाइँको मैदानबाट–२०४६ कथा सङ्ग्रह हुँदै प्रभास डोट्याली बृहत् शब्दकोश–२०५८, प्रभासगीता महाकाव्यको प्रकाशनसँगै उहाँको साधना र विद्वताले आरडी प्रभासको लेखनीले उचाइ छुन पुग्यो । स्पेनका भाषाविद् जउन लाजोले आफ्नो महाविद्यावारिधिको शोधपत्रको आधार नै यही ग्रन्थलाई बनाउनुभयो भने उहाँद्वारा रचित प्रभासगीता महाकाव्यमाथि नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधिसमेत भइसकेको छ । शब्दकोश तयार गर्दागर्दै पेटको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेर मृत्युको मुखबाट उम्केर आएको जीवन अझ बढी सिर्जनशील बनिदियो, साहित्य साधनामा लाग्न अझ बढी समय बित्न थाले उहाँका । जीवनमा दुःख पन्छाउँदै आएकै हो, रोग पनि पन्छाउँदै अघि बढ्दै जानुभएको उहाँ लेखनको सात दशक नाघिसक्दा पनि उत्तिकै सव्रिmय भएर निरन्तर लेखिरहनुभएको छ । हाइकुदेखि महाकाव्यसम्म, खोज अनुसन्धानदेखि कोश निर्माणसम्म सबैतिर उत्तिकै लाग्न सक्ने ।
डडेलधुराको दिव्यावती, रनागाउँमा १९९३ जेठ २० गते जन्मिनुभएका उहाँले नौ वर्षकै छँदा बुवा विश्वेश्वर चटौतलाई, १२ वर्षको उमेरमा आमा वेलुदेवीलाई गुमाउनु प¥यो । मातृ–पितृविहीन रहेको, उहाँको जीवनमा १५ वर्षको उमेरमै दस वर्षीया वधू राजलक्ष्मीसँग वैवाहिक सम्बन्ध गाँसिएपछि उहाँले दरिलो आड र भरोसा पाउनुभयो । राजलक्ष्मी मेरो जीवनमा आएपछि उनको सकारात्मक सोच र सव्रिmयताले ठुलो हौसला र ऊर्जा थपियो ममा । आज म जे छु, त्यसमा तिनको शतप्रतिशत योगदान रहेको छ भन्नुपर्दा मलाई गौरव लाग्छ । आफ्नै जीवनसङ्गिनीका बारेमा खुलेर प्रशङ्सा गर्ने उहाँले जीवनको सहसहयात्रा मात्र गरिसक्नु भएको छैन सहलेखन गरेर दुई वटा कृति (बेलाको बोली बखतको इतिहास, डोट्याली उखान टुक्का सङ्ग्रह) पनि प्रकाशमा ल्याइसक्नु भएको छ । रामेश्वर दत्त चटौत औपचारिक नाम हुँदै राजेश्वरी दत्तबाट सम्बोधित उहाँ साहित्य लेखनमा आएपछि नामलाई छोट्याउने प्रभावमा परेर आरडी बन्नुभयो विसं २०१४ सालमा । त्यतिबेला आफ्ना दाजु एनडी, राजनीति र साहित्यका प्रसिद्ध व्यक्तित्व बिपी आदिको सिको गरेर आरडी प्रभास चटौतबाट साहित्यमा देखा पर्नुभएको हो उहाँ । केटाकेटी उमेरमै पक्षाघातले समस्यामा पारेपछि पढाइ अलि ढिलो सुरु गर्नुप¥यो उहाँले । घरैमा बुवाबाट आरम्भिक शिक्षा ग्रहण गरेपछि मात्र सात वर्षको उमेरमा विद्यालय भर्ना हुन पुग्नुभयो । पढ्नलाई उमेरले के छेक्थ्यो र भने जस्तै उहाँले अङ्ग्रेजी, संस्कृत र हिन्दी साहित्यमा स्नातक, राजनीतिशास्त्रमा स्नातकत्तोर, संस्कृत साहित्यमा शास्त्री र बिएल गर्नुभयो । मातृभाषा डोटेली, अध्ययन गरेको नेपाली, हिन्दी, अङ्ग्रेजी संस्कृत भाषाका ज्ञाता बनेर यी सबै भाषामा कलम चलाउने हैसियत बनाउनुभयो । संस्कृतिको उर्वर थलो सुदूरपश्चिममा जन्मिएर पनि होला केटाकेटी उमेरदेखि संस्कृति र इतिहासमा रुचि बढ्यो उहाँको । बुवा र दाजुको लेखनीले साहित्यमा डो¥यायो । केटाकेटी उमेरमै भगवान श्रीकृष्ण र विभिन्न चराचुरुङ्गीका चित्र कोरेर चित्रकार पनि हुँ है भन्ने सन्देश पनि दिनुभएको छ । डोट्याली भाषामा सत्य हरिश्चन्द्र नाटक लेखेर मञ्चन गराउने, निर्देशन गरेर पनि हिँड्नुभयो र बन्नुभयो नाट्यकर्मी पनि । २०१८–१९ सालताकाको समय त्यसमा पनि सत्य हरिश्चन्द्रको छोरोको भूमिकामा अभिनय गर्ने मानिस पाउनै हम्मे प-यो उहाँलाई सर्पले टोकेर मर्नुपर्ने बनेर कसरी खेल्ने भन्दै पन्छिए धेरै, लौ मै खेल्छु आफैँ भनेर कस्सिएपछि भने तयार भए अरू पनि । त्यतिखेरको परिवेशमा नाटक खेल्नु, नाटक मञ्चन हुनु भनेको नौलो र कौतुहलको विषय थियो उहाँको थलोमा । २०१९ देखि २०२५ सम्म राष्ट्रिय समाचार समितिको डडेलधुरा प्रतिनिधि बनेर, समीक्षा साप्ताहिकको प्रतिनिधि भएर पत्रकारितामा पनि आफ्नो उपस्थिति जनाउनुभयो । नेपाली भाषामा लेखिएको भरत जङ्गमको कालो सूर्य उपन्यासलाई डोट्याली भाषामा अनुवाद गरेर अनुवादकका रूपमा पनि उहाँको परिचय स्थापित छ । हातमा लट्ठी लिएर शिक्षक बनेको, विद्यालय स्थापना गरेको, देवल मावि, डडेलधुराका प्रधानाध्यापक बनेको पनि हो । आफ्नो लेखनीलाई साहित्यमा मात्र सीमित नराखी साहित्यभन्दा बाहेक क्षेत्रमा पनि कलम चलाएर कृति प्रकाशन गर्नुभएको छ । नेपाली साहित्य संस्थानका सदस्य, नेपाली साहित्य संस्थान महाकाली डडेलधुराका कोषाध्यक्ष भएर साहित्यिक सङ्घ संस्थामा पनि सव्रिmय बन्नुभयो ।
स्कुल पढ्दाकै समय पुरस्कार हात पार्न सफल उहाँले पछिल्ला समय २०३९ मा लुम्बिनी अञ्चलस्तरीय कविगोष्ठीमा प्रथम भई पुरस्कार पाएपछि आदिकवि भानुभक्त पुरस्कार, लेखनाथ काव्य पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, पहलमानसिंह स्मृति दीर्घ साहित्य साधक सम्मान, चन्द्रधन पुरस्कार, मदन पुरस्कार स्वर्ण वर्ष सम्मान, षडानन्द राष्ट्रिय पुरस्कार आदि पाइसक्नु भएको छ ।
राजनीतिमा बसेको चस्का पनि एकताका त्यत्तिकै थियो । किसान सङ्गठनका सभापति, डडेलधुरा जिल्ला सभासद राष्ट्रिय पञ्चायत सदस्य बन्ने तरखर हुँदै हुकुम प्रमाङ्गीबाट भूमि सुधार अधिकारी बनेपछि राजनीति जीवनमा पूर्णविराम लाग्न पुग्यो र थालियो सरकारी जागिरे जीवन । तिस वर्षको जागिरे जीवनमा कामु सचिवसम्म बनेर अवकाश पाएपछिको समय साहित्यमै बितेको छ । जन्मथलो डडेलधुरामा बितेको बाल्यकाल, अध्ययनमा बितेको भारतको विभिन्न सहर, जागिरे जीवनका व्रmममा विभिन्न जिल्लाको बसाइपछि लामो समयदेखि बेलुविश्व–निकेतन, बानेश्वरस्थित आफ्नै निवासमा साधनामा बित्छ समय । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य बनेर यसैसँग जोडिन पुग्नुभएका आरडी प्रभास चटौतका गतिविधि, लेखन, साधनाले नै उहाँलाई प्राज्ञका रूपमा चिनाएको छ । आफ्नै बुताले उभिएको प्राज्ञका रूपमा ।
जीवनमा आइपरेका दुःख सङ्घर्ष एकातिर पन्छाएर सिर्जनशील र कर्मशील बनेर अघि बढेको उहाँको जीवन विविध रूपले समाजमा चिनिएको नामले बित्यो । साहित्य साधनामै समय बिताएर जीवनको धेरै वर्ष लगानी गर्नु भएको आरडी प्रभासको जीवन सम्मानित बनेर चिनिएको छ, लेखनको प्रतिफल भनौँ कि उहाँको साधनाको कदर ।
 
                                
                             
                                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                