• १३ साउन २०८१, आइतबार

नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्छ : मन्त्री किराती

blog

सिनामङ्गलस्थित जग्गामा नेपाल वायुसेवा निगमको प्रधान कार्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताउनुभएको छ । शनिबार निगमको सिनामङ्गलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री किरातीले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गर्नुभयो । उहाँले निगम अन्तार्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताउनु भयो । उहाँले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भए पनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको दाबी गर्नुभयो ।


‘‘निगम गौरवको विषय बन्नेछ । सबैले इमान्दार भएर लागौँ । एक वर्ष सबैले इमान्दार होऔँ । यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ । हाम्रो देशको अनुहार, रुपै भनौँ अन्तार्राष्ट्रिय जगतमा देखाउने निगम हो । यो निगमलाई राम्रो बनाउनुपर्छ भन्ने मेरो मात्रै होइन, अहिलेको वर्तमान प्रधानमन्त्रीको पनि सपना हो ।,’’ मन्त्री किरातीले भन्नुभयो, ‘‘जसले हाम्रो राष्ट्रिय ध्वजा बोकेर संसारभर जाने गर्छ, जसले हाम्रो इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने गर्दछ । त्यस कारणले निगम हामीले बनाउनै पर्छ । म मन्त्री भएको एक वर्ष पार भइसकेको छ । सबैभन्दा ठूलो चुनौति वायुसेवा निगम जसले सफलता र असफलताको मार्गचित्र निर्माण गर्नुछ ।’’

निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको शाहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले विस्तारै निगममाथि उठ्दै गएको अनुभूति भएको उहाँको भनाइ छ । उहाँले आजबाट निगमको गाडीमा गेयर चेन्ज भएकाले स्पिडमा काम अघि बढ्ने बताउनु भयो ।


मन्त्री किरातीले भन्नुभयो, ‘‘एक वर्षमा निगमले आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋणको उदाहरण, वर्षौंदेखि सेतो हात्तीको रुपमा चित्रण गर्दै आएको चिनियाँ जहाजको निकास दिने कुराको शाहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको कुरा होस्, वा अन्तर्राष्ट्रिय र हाम्रो ट्रंक रुटमा पनि उड्ने जहाजहरुको लिज प्रोसेस अब अन्तिम चरणमा पुगेको कुराले होस् । ढिलो भए पनि अघि नै बढेका छौँ । आजदेखि निगमको गाडीमा गेयर चेन्ज भएको छ । अब स्पिड लिने विश्वास छ ।’’