• १३ साउन २०८१, आइतबार

सडकमा रात बिताउने बोगटीको उद्धार

blog

तारकेश्वर नगरपालिका वडा नं. ४ शेषमती पुल क्षेत्रबाट उद्धार गरिएको २५ वर्षका गुणबहादुर बोगटी ।

काठमाडौं, माघ १३ गते । तारकेश्वर नगरपालिका वडा नं. ४ शेषमती पुल क्षेत्रमा सडकमा रात दिन बिताउँदै आउनु भएका २५ वर्षका गुणबहादुर बोगटीको उद्धार गरिएको छ ।

नुवाकोट जिल्लाको भैरुङकोट त कसैलाई कुँइकेल डाँडा घर बताउने बोगटी तीन महिनाअघि काठमाडौं आएको बताउनु हुन्छ ।

गुणबहादुर आफ्नो परिवारबारेमा भन्नुहुन्छ, ‘‘मेरा बाको नाम समुन्द्र बोगटी, आमा शान्ति माया बोगटी र दिदीको नाम सीता बोगटी, तर उहाँहरू हुनुहुन्न ।’’

काठमाडौं आएपछि सुरुमा सिसा कारखानामा काम गरेको, तर पछि सडकमा आएको बोगटीको भनाइ छ । बिहानै सडकमा भेटिएका बोगटी राम्ररी बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । चिया र बिस्कुट खाएपछि मात्रै बोगटी संवाद गर्न सक्ने अवस्थामा आउनु भयो ।

रक्सी र चुरोटका लतमा फसेका बोगटीलाई वडा सदस्य श्रीकृष्ण महर्जनको रोहवरमा मानव सेवा आश्रमका प्रतिनिधि राजु बास्कोटाको टोलीले उद्धार गरेको छ । नागार्जुन क्षेत्रमा रहेको मानव सेवा आश्रममा बोगटीलाई राखिने छ ।

स्थानीयबासी रामेश्वर लामिछानेका अनुसार, बोगटी सानोपुलस्थित पुतुवार समुदायको शवदाह गृहमा राती बस्दै आउनु भएको थियो । केही दिनअघि लाश लिएर जलाउन आउँदा त्यहाँ सफा गरियो र त्यस क्रममा बोगटीले ओछाएका लुगा पनि सफाइ कर्मचारीले लगे । त्यसपछि बोगटीको दिनचार्य सडकमा नै बित्न थाल्यो ।

स्थानीय पसल व्यवसायीका अनुसार बोगटीले कुनै उपद्रो र चोर्ने काम नगरेको पाइयो । बोगटीले फलाम खोजेर बेचेर चुरोट र रक्सी खाने गरेको जानकारी दिनुभयो । कक्षा ६ मा पढ्दा अनुत्तीर्ण भएपछि पढाइ छाडेको बोगटीको भनाइ छ ।

मानव सेवा आश्रमका पारिवारिक पुनर्मिलन र उद्धार कार्य हेर्नु हुने राजु बास्कोटाले बोगटीको स्वास्थ्य उपचार हुने र खानेबस्ने व्यवस्था आश्रमले गर्ने बताउनु भयो ।



यो पनि पढ्नुहोस

महलका मालिक पनि सडकमा