• १३ साउन २०८१, आइतबार

सहकारी ठगी आरोपमा कोषाध्यक्ष नेम्वाङ पक्राउ

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ १२ गते । बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पाँचथर जिल्ला साबिक इङबुङ गाविस–१ हाल सिद्धिचरण नगरपालिका–१२ भैरबटोल ओखलढुङ्गा बस्नुहुने वर्ष ४८ का नेत्रबहादुर नेम्वाङ (नरेश)लाई प्रहरीले पक्राउ गरेको हो । 

उहाँ लामो समय देखी फरार हुनुहुन्थ्यो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कोषाध्यक्ष नेम्बाङलाई शुक्रवार सिद्धिचरण नगरपालिका–६ जन्तरखानीबाट पक्राउ गरेको प्रहरी निरीक्षक बालिस्टर सिंहले बताउनुभयो । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले यस अघि सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका अध्यक्ष सुनुवार र उपाध्यक्ष खत्री उपर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको प्रहरी निरीक्षक सिंहको भनाई छ । पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुङ्गाका जिल्ला सचिव र नेम्बाङ जनता समाजवादी पार्टीका नेता हुन् । जिल्लाको चम्पादेवी गाउँपालिका–९ विलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाडाैँ महानगरपालिका–६ बौद्धबाट र मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुङ्गाका पदम बहादुर खत्रीलाई घरैबाट बुधवार पक्राउ गरिएको प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिनुभयो ।

यस क्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले शुक्रवार एक सूचना जारी गरी यस सहकारी संस्थाबाट कोही ठगीमा परी पीडित भएको भए जाहेरी दर्खास्त दिन अनुरोध गरेको छ । ठगीमा परेकाले उजुरी दिन बाँकी कोही भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको हो । बचतकर्ता मध्येका तिलक श्रेष्ठले गत मङ्सिर १५ गते सहकारीका सञ्चालक विरुद्ध जाहेरी दर्ता गर्नुभएको थियो । सहकारीमा बचत गरेको रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरको भन्दै कानुन अनुसारका कारबाहीको माग गरेर बचतकर्ताहरू मध्येबाट श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

प्रहरीले उजुरीकर्ता र सहकारी सञ्चालकलाई समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालयमा छलफल गराएको थियो । एक साता भित्र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति गरेका सहकारीका अध्यक्ष विनोद सुनुवारसहित सहकारीका पदाधिकारी रकम फिर्ता गर्नुको सट्टा सम्पर्क विहीन भएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको थियो । अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नभएपछि अदालतले सहकारी सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि ककनी गौरीवन सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरू फरार भएका थिए । सहकारी अन्य सञ्चालक समितिका पदाधिकारी अझै फरार छन् ।