• १३ साउन २०८१, आइतबार

पर्यटक तान्दै पाहुनाघर

blog

राधा लुइटेल 

फिदिम, माघ १३ गते ।  फिदिम २ मा निर्मित पाहुनाघर (तरेवा हिम) आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । फिदिमदेखि १२ किलोमिटर दुरीमा अवस्थित यो घर उच्च स्थानमा रहनुका साथै कलात्मक र मौलिक भएकाले घुमघामका पारखीका लागि आकर्षणको केन्द्रबिन्दु बनेको हो । 

लिम्बू मौलिकतामा आधारित यो घरको वरिपरि कलात्मक बुट्टा कँुुदिएका छन् भने छानो खरले छाइएको छ । बार्दलीको माथि सेता, पहेँला र काला घोगाले सजिएको मकैका झुत्ता राखिएका छन् । यसलाई लिम्बू भाषामा ‘तरेवा हिम’ भनेर नामकरण गरिएको छ ।

बार्दलीको वल्लो र पल्लो छेउमा लालटिन झुन्ड्याइनुका साथै बगैँचामा फुलिरहेका विभिन्न प्रजातिका फूलले यहाँ पुग्ने जो कोहीलाई आकर्षण गर्छ  । घर वरिपरिको स्वच्छ सफा वातावरण र हरियालीले यहाँ पुग्ने जो कोहीको मन आनन्दित बनाउँछ । अग्लो स्थानमा रहेको यस घरको अगाडि उभिएर तस्बिर खिच्दा आकर्षक देखिनुका साथै पाहुना घर रहेको स्थानबाट सदरमुकाम फिदिम, तेह्रथुमको आठराई, म्याङलुङ र छ थरसँगै धनकुटासम्मका स्थलको अवलोकन तथा कञ्चनजङ्घा र कुम्भकर्णसहित छ वटाभन्दा धेरै हिमाल र हिम शृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

नेपाल बैङ्क लिमिटेड फिदिम शाखाकी प्रमुख कमला चापागाईंले भन्नुभयो, “चिसो बतास चलिरहने यस स्थानबाट सुन्दर हिमालसँगै पहाडी र उच्च पहाडी क्षेत्र देख्न सकिने भएकाले दोहो-याएर पुग्न मन लाग्छ ।” यो घरमा पुग्ने जो कोहीलाई स्थानीय उत्पादित अन्न र फलफूलबाट निर्मित परिकारले स्वागत गरिने भएकाले पाहुनाघर नामकरण गरिएको पाहुनाघरकी  सञ्चालक तिर्सना राई बताउनुहुन्छ ।

गत असोजमा निर्मित यो घरमा शुव्रmबार, शनिबार र सरकारी बिदाका दिन घुम्न जानेको भिड लाग्छ । योबाहेक अन्य समयमा समेत दैनिक १५ देखि २० जना आन्तरिक पर्यटक यस स्थानमा आइपुग्ने गरेको पनि राईको भनाइ छ ।

राईका अनुसार लोकल कुखुरा, मकै, कोदो, फापर, जौ, गहुँ, नासपाती, आल्चा, आरु, आरुबखडा, किवी र साग, आलु, रायो, इस्कुस, घर तरुल, करेला, फूल कोभी, बन्दा कोभी, गाँजर, मुला, धनिया, टिमुर, खायक्पा पाखनभेद आदि यहाँका रैथाने उत्पादन हुन्। यहाँ सञ्चालित घरबासमा यिनै उत्पादनका परिकार बनाएर पाहुनाको स्वागत सत्कार गरिने भएकाले तिनको स्वाद पनि पर्यटकको रोजाइमा पर्छन् । पाहुनाघर र आसपास रहेका होमस्टेका सञ्चालकको मुस्कानसहितको सेवा, रैथाने परिकारको स्वाद, यहाँबाट देखिने मनोरम दृश्यावलोकनले आफ्नो मन तानेको फिदिम–४ की रमिला लिम्बूले बताउनुभयो ।