• १३ साउन २०८१, आइतबार

काल्चे सडक अलपत्र

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ १३ गते । छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले सडक निर्माण अलपत्र परेको हो । 

गुर्भाकोट नगरपालिका–१, ५ र ६ सहित भेरीगङ्गा नगरपालिकाको वडा नं. ६, ७, १० र १२ छुने गरी सडक निर्माणको काम थालिएको थियो । सडक निर्माण सुरु गरिएको डेढ वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको जिम्मा पाएको कन्काई/गणपति जेभीले काम नगर्दा सडक अलपत्र परेको हो ।

सडक डिभिजन कार्यालय सुर्खेतले २०७९ साल वैशाख २ गते कन्काई/गणपति जेभीसँग सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौतापछि नै निर्माण कम्पनीले काममा आलटाल गरिरहेको छ । २०८१ साल असोजसम्म सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ तर सडक निर्माण सुरु भएको डेढ वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ । साढे नौ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । २० करोड ९० लाखमा कन्काई/गणपति जेभीसँग सडक निर्माणको ठेक्का सम्झौता गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । पर्खाल निर्माण, कल्भर्ट निर्माण र कालोपत्रेसम्मका काम गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणको काम हुन नसकेको बताउनुभयो । उहाँका अनुसार सात महिनादेखि सडक निर्माणको काम अघि बढेको छैन । पटक पटक काम अघि बढाउन ताकिता गरिए पनि निर्माण कम्पनीले काम अघि नबढाएको बताइन्छ । 

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले निर्माण कम्पनी लाचार बन्दा सडक निर्माण कार्य अलपत्र परेको बताउनुभयो । सम्झौता भएदेखि नै सडक निर्माणको काम अघि बढ्न सकेको छैन । सडक निर्माणको कामले गति नलिँदा स्थानीयले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्नु परेको छ । पर्याप्त बजेट र काम गर्ने वातावरण हुँदाहुँदै पनि निर्माण व्यवसायीले काम नगरेको नगरप्रमुख पुनले बताउनुभयो । 

काममा बेवास्ता र मनोमानी गर्ने ठेकेदारलाई ताकिता र फोन गर्दागर्दै आजित बनिसकेको उहाँको भनाइ छ । उहाँले नगरपालिकामा आधा दर्जन ठुला योजना अलपत्र परेकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्नुपर्ने माग सम्बन्धित कार्यालयमा गरिरहेको बताउनुभयो । सडक डिभिजन कार्यालय सुर्खेतले काम अलपत्र पारेपछि निर्माण कम्पनीलाई पटक पटक पत्राचार गरेको छ । कार्यालयका सूचना अधिकारी पौडेलले तत्काल काम सुरु नगरे कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो । फागुन पहिलो हप्तासम्म काम सुरु नगरे ठेक्का रद्द गर्ने तयारी भइरहेको बताइन्छ ।