• १३ साउन २०८१, आइतबार

विद्यालयमै आवासीय सुविधा

blog

चरीकोट समाचारदाता

चरीकोट, माघ १३ गते । दोलखाको एक सामुदायिक विद्यालयले विद्यार्थीको नतिजा सुधार गर्न विद्यालयमा नै आवासीय सुविधाको व्यवस्था गरेको छ । तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माविले नजिकिँदै गरेको एसइईलाई मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालयमा नै आवासको व्यवस्थापन गरेर पठनपाठन सुरु गरेको हो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले वास्ता नगरेपछि विद्यालय शिक्षा सुधारका लागि विद्यालयले आफ्नै व्यवस्थापनमा आवासको सुविधा व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल तिमल्सिनाले बताउनुभयो । विद्यार्थीलाई आवास सुविधा प्रदान गर्ने गाउँपालिकाकै पहिलो विद्यालय भएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । शैक्षिक सुधारका लागि विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष र वडाध्यक्ष नारायण खड्काले चासो दिएर सव्रिmयतापूर्वक सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार खड्काले बताउनुभयो । 

एसइई दिने विद्यार्थीलाई आवासीय व्यवस्था गरेपछि विद्यार्थीलाई पढाउन विषय शिक्षकको व्यवस्था गरिएको खड्काको भनाइ छ । विद्यालयमा बिहान बेलुका पढाउन र हेरचाह गर्न शिक्षकको व्यवस्था गरिएको उहाँले बताउनुभयो । आउँदै गरेको एसइई परीक्षामा सामेल हुने ३७ जना विद्यार्थीलाई आवासको व्यवस्था गरिएको छ । विद्यालयमा शिक्षक, विद्यार्थीका गतिविधिसँगै आवास र खानाको पनि अनुगमन प्रधानाध्यापक र व्यवस्थापन समितिले गर्ने विद्यालयले जनाएको छ ।

बिहान बेलुका पढाइ हुने ट्युसन र कोचिङ कक्षाले सिकाइ बढ्ने वडाध्यक्ष नारायण खड्काले बताउनुभयो । वडाध्यक्ष खड्काले भन्नुभयो, “दिउँसो समयमा विद्यालय नआउने विद्यार्थी पनि नियमित बनाएका छौँ । हामी गत वर्षदेखि नै दिउँसो विद्यालयको पढाइलाई सुधार गर्न विभिन्न शैक्षिक कार्यक्रम गथ्र्यौं तर यसपालि नतिजा सुधारका लागि बिहान र बेलुका पनि नियमित कक्षाको व्यवस्था गरेका छौँ ।” एसइई दिने विद्यार्थीका लागि विद्यालयले अहिले बिहान दुई र बेलुका थप कक्षासमेत सञ्चालन गरिएको छ । अलि कमजोर विद्यार्थीका लागि अरू थप कक्षा पनि चलाएका छौँ । उनीहरूको सिकाइ बढाएर गतिलो नतिजा ल्याउन प्रयास भइरहेको छ ।