• ९ असार २०८१, आइतबार

गुणस्तरीय शिक्षा दिन विद्यार्थीलाई स्थानान्तरण

blog

मीना कंडेल

कावासोती, माघ १२ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित प्रगति प्राथमिक विद्यालयका विद्यार्थीलाई जनज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ । 

प्रगति प्राथमिक विद्यालयमा देवचुली नगरपालिका –१५ को वडा कार्यालय सरेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएकाले विद्यार्थीलाई सारिएको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनबहादुर दाहालले बताउनुभयो । एकै ठाउँबाट सबै विद्यार्थीलाई रेखदेखमा पनि सहज हुने बताउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा र संस्कार प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

वि.सं २०७५ माघ १८ गते साबिकको प्रगति प्राथमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालय मर्ज भएको थियो । दुवै विद्यालय मर्ज भए पनि कक्षा ५ सम्मको पढाइ प्रगति प्राथमिक विद्यालयबाटै सञ्चालन भइरहेको थियो । कक्षा ६ देखि १२ सम्म जनज्योति माध्यमिक विद्यालयमा भएको थियो । दुईसय ५० जना विद्यार्थीलाई जनज्योति माध्यमिक विद्यालयको ब्लकमा सारिएको प्रधानाध्यापक दाहालले बताउनुभयो ।

देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सबैभन्दा ठुलो भूमिका विद्यालय र शिक्षक शिक्षिकाको रहने भएकाले विद्यार्थीको मनोबल बुझ्दै शिक्षा दिन अनुरोध गर्नुभयो । विद्यालयले अब एउटै भवनमा सबै विद्यार्थीलाई सारेपछि धेरै कुरामा सहज हुने बताउँदै विद्यालयको यो निर्णयप्रति आफू सकारात्मक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ बस्यालले बताउनुभयो ।

कार्यक्रममा अवसरमा विद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान दिने व्यक्ति एवं गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयले आयोजना वक्तृत्वकलामा प्रथम भई पुरस्कृत हुनुभएका जनज्योति माध्यमिक विद्यालयका शिक्षक होमनाथ न्यौपानेलाई सम्मान गरिएको छ । प्रगति प्राथमिक विद्यालयका दुई सय ५० विद्यार्थीलाई जनज्योति माध्यमिक विद्यालयको ब्लकमा सारिएपछि विद्यार्थीको सङ्ख्या एक हजार एकसय २५ पुगेको छ ।