काठमाडौँ, माघ १२ गते। नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ । शुक्रबार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले कांग्रेसभित्र अहिले मैले के पाएँ ? भन्ने भाष्य तयार भएको बताउनुभयो। उहाँले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताउनुभयो। उहाँले कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपर्ने बताउनुभयो।उहाँले विगतका गौरवलाई स्मरण गर्नै मात्र नभई गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘आज मैले पाइनँ, मैले पाइनँ, मैले के पाएँ ? भन्ने धेरै भाष्य तयार भएको छ कांग्रेसभित्र तर हिजो के पाउनका लागि होइन, के दिनका लागि हामी लडिरहेका थियौँ।हाम्रा अग्रज केका लागि लडिरहेका थिए ? यो कुरा स्मरण गर्नु आवश्यक छ।गौरवमय इतिहासलाई गौरवका लागि गौरवको स्थानमा राख्दै वर्तमानमा त्यो गौरवलाई स्मरण गर्ने मात्रै होइन।त्यस्तै गौरवमय इतिहास बनाउनेतर्फ हामीले लाग्नुपर्छ ।’’
उपसभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।