• १५ मंसिर २०८१, शनिबार

ठगी अभियोगमा प्रमुखविरुद्ध रेड कर्नर नोटिस

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ १२ गते । कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । 

नेपालीले पोखरा र बागलुङमा रहेका इमेज सहकारीबाट बचतकर्ताको डेढ अर्ब र विभिन्न बैङ्कको ३५ करोड हिनामिना गरेको बताइन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हालसालै नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको पुष्टि गर्नुभयो । “उहाँविरुद्ध नोटिस जारी भएको छ, चाँडै पक्राउ पर्नुहुनेछ । इन्टरपोलमार्फत उहाँको खोजी जारी छ ।”

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली गत वैशाखदेखि सम्पर्कविहीन हुनुहुन्छ । नेपालीको समूहले पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी इमेज बचत तथा ऋण सहकारी खोली बचत हिनामिना गरेको प्रहरीकोमा अभियोग छ । इमेज सहकारी प्रकरणमा अदालतले आठ जनाविरुद्ध जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध एक हजार पाँचसय ५० बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । 

इमेज सहकारीका अनिता बुढामगर, चित्रबहादुर भण्डारी, शक्ति किसान नरमती बुढा र डोरबहादुर परियार पक्राउ परेका छन् । सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रमुख नेपाली बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा समेत मत दिन आउनु भएन । 

यो बिचमा दुई पटक विभिन्न माध्यमबाट सम्पर्कमा आइ उहाँले आफ्नो जायजेथा बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न चाहेको बताइएको छ ।