• १३ साउन २०८१, आइतबार

कटन क्यान्डीमा अखाद्य रङ भेटियो, बजार अनुगमन सशक्त बनाउन उपप्रमुखको निर्देशन

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल । तस्बिर :काठमाडौं महानगरपालिका

काठमाडौं, माघ १२ गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गर्नुभएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमुना सङ्कलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएको थियो ।

यसरी पठाइएको नमुनामा ‘रोडामीन बी’ नामक अखाद्य रङ मिसाइएको प्रतिवेदन प्राप्त भएपछि उपप्रमुख डङ्गोलले बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिँदै अभिभावकहरुलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गर्नुभएको हो ।

‘‘सबैले खानेकुरा गुणस्तरीय हुनुपर्छ । बालबालिकाहरुका सन्दर्भमा उनीहरुलाई के खाने, कस्तो खाने, कति खाने थाहा हुँदैन । हेर्दा आकर्षक देखिने खानेकुरामा लोभिन्छन् । त्यसैले बालबालिकाका खानेकुराको गुणस्तरमा अभिभावकले ध्यान दिनुपर्छ ।,’’ उपप्रमुख डङ्गोलले भन्नुभयो, ‘‘अखाद्य वस्तुको बेचबिखनसहित अनुचित व्यापारिक क्रियाकलाप हुन नदिन महानगरपालिका चनाखो छ । सशक्त भएर काम गर्नेछ ।’’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालका प्रमुख श्रीराम न्यौपानेका अनुसार यो रङ भएका क्यान्डी खाँदा तत्कालै पनि समस्या देखिन सक्छन् । यसका दीर्घकालीन असर पनि छन् । उहाँ थप्दै भन्नुभयो, ‘‘टाउको दुख्ने, उल्टी हुने तत्कालका समस्या हुन् । कलेजोमा असर गर्ने र क्यान्सरसम्म बनाउन सक्ने यसका दीर्घकालीन असर हुन् ।’’

आज नै महानगरपालिकाको कृषि तथा पशुपन्क्षी विभागले सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर पाँच हजारदेखि दुई लाख रुपियाँसम्म जरिवाना गराउने भएकाले यस्ता क्रियाकलाप नगर्न सचेत गराएको छ ।

खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमतिपत्रसम्बन्धी जानकारी भएको लेबल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।