• १५ असार २०८१, शनिबार

पारदर्शी ढङ्गले कपाली तमसुक प्रमाणीकरण गरिएको वडाध्यक्षको दाबी

blog

कपाली तमसुक प्रमाणीकरण गर्दै वडाध्यक्ष राघवेन्द्रप्रसाद साह । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, माघ १२ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहले पारदर्शी ढङ्गले कपाली तमसुक प्रमाणीकरण गरेको दाबी गर्नुभएको छ । बढी दस्तुर लिने तथा ऋणभन्दा तीन गुण बढी कपाली तमसुक प्रमाणीकरण गरेर मिटरब्याजीको पक्षमा प्रायजसो वडाध्यक्ष लागेको आरोप लागिरहेको बेला उहाँले भने निष्पक्ष ढङ्गबाट कपाली तमसुक प्रमाणीकरण गरेको दाबी गर्नुभयो । 

तमसुक प्रमाणीकरण गर्नुपर्ने म्याद सकिएको भोलिपल्ट बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर वडाध्यक्ष साहले वडामा ६५३ वटा कपाली तमसुक प्रमाणीकरण गरिएको बताउनुभयो । त्यसमध्ये ५१८ वटा सहमति, १३५ वटा असहमति, र आठ वटा सहमति तथा ३१ वटा असहमतिका गरी ३९ वटा तमसुक प्रमाणीकरण गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । प्रमाणीकरणको समयभित्र उपस्थित नभएकाले सो तमसुक प्रमाणीकरण गर्न बाँकी रहन गएको उहाँले जानकारी दिनुभयो ।  

ऋणधनी र ऋणीले तमसुकमा उल्लेख भएका रकम लेनदेन गरेको कुरा स्वीकार गरेकाले सहमतिमा र ऋणी सम्पर्कमै नआएकाले कानुनी पक्रिया तथा कानुनले दिएको अधिकार प्रयोग गर्दै कैफियत उल्लेख गरेर प्रमाणीकरण गरेको वडाध्यक्ष साहको भनाइ छ । 

सम्पर्कमा नआएका ऋणीलाई सात दिने पत्राचार गरेको र त्यसका बाबजुद कार्यालयमा उपस्थित नभएपछि पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरिएको तथा कुनै–कुनै ऋणीले गुनासो गरेकाले उहाँहरूको गुनासो कैफियतमा उल्लेख गरिएको उहाँको भनाइ छ । 

वडाध्यक्ष साहले सरकारले तोकेको दुई सय रुपियाँ दस्तुरभन्दा एक रुपियाँ पनि बढी कसैसँग नलिएको बताउँदै कार्यालयको कोठा बाहिर टेबुल कुर्सी राखेर पारदर्शी ढङ्गले काम गरेको बताउनुभयो ।  

२०७५ भदौ १ अघिका कपाली तमसुक २०८० साउन १२ देखि माघ ११ गतेसम्मलाई सरकारले समय तोकेको थियो ।