• १३ साउन २०८१, आइतबार

राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्नुपर्छ : नेता सिंह

blog

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंह । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, माघ १२ गते । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस स्थापना दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेस बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीति कुनै पद पाउन र कमाउन नभई सेवाको रूपमा सबैले ग्रहण गर्नुपर्ने बताउनुभयो । 

पार्टीमा प्राप्त जिम्मेवारी र पार्टीबाट प्रतिनिधित्व गरेर बनेका जनप्रतिनिधिहरूले इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनताले चाहेको सुशासनलाई अनुभूत गराउन पार्टी लाग्नुपर्ने जिकिर गर्दै जनताको इच्छा आकाङ्क्षा बुझेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सङ्घीय कानुन बनाउन ढिला हुँदा सङ्घीयतामा प्रदेश र स्थानीय तहको अधिकार प्राप्त हुन नसकेको स्मरण गराउँदै उहाँले त्यसतर्फ सांसदहरूको ध्यान जानुपर्ने बताउनुभयो । “संविधान जारी गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ, यो इतिहासमै महत्त्वपूर्ण काम भयो” सिंहले भन्नुभयो । 

कांग्रेसले संविधान जोगाउन गठबन्धन गरेर नेतृत्व गरेको बताउँदै गठबन्धनलाई बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो । संविधान र लोकतन्त्रको रक्षा गर्न, संविधानको कार्यान्वयन मार्फत देश विकास गर्न गठबन्धन बनेको उहाँको भनाइ छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । 

जिल्ला सभापति बुद्ध लामाले कांग्रेस स्थापनाको मर्मलाई कसरी आत्मसात् गर्ने भन्ने चिन्ता रहेको बताउँदै पार्टी रूपान्तरण आजको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य घनश्याम रिजाल, श्रीकृष्ण अधिकारी, विष्णुदेवी पुडासैनी र जीतजङ्ग बस्नेत लगायतको सहभागिता थियो ।