देवरामप्रसाद यादव
सप्तरी, माघ १२ गते । देशकै पुरानो सप्तरीस्थित चन्द्र नहरको पुनः निर्माण हुने भएको छ । मर्मत अभावले जीर्ण बनेको नहरलाई जापान सरकारले दुई अर्ब लगानी गरेर पुनःनिर्माण गर्ने भएको हो । चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवका अनुसार जापान सरकार निर्माण ठेक्का लिएको बताउनुभयो ।
सो नहरको हेडदेखि टेलसम्मको ३२ वटा नयाँ पुल र साइफनको नयाँ निर्माण गर्ने नेपाल सरकार र जापान सरकारको जाइका निर्माण कम्पनीबिच सम्झौता भएको अध्यक्ष यादवले जानकारी दिनुभयो । चन्द्रनहरको वरिपरि बस्ने मानिसहरुले नै अतिक्रमण गरेपछि चन्द्रनहर प्रतिदिन जीर्ण बन्दै गएको हो । नहरको डिलमा मानिसहरु घर बनाउनेदेखि विभिन्न घरेलु सामान राखेर अतिक्रमण गर्ने गरेका छन् । साथै नहरमा थोरै पानी आउने समयमा पनि सिँचाइको लागि विभिन्न ठाउँमा भत्काउँदा नहर जीर्ण र अतिक्रमित भएको अध्यक्ष यादव बताउनुहुन्छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९८० मा निर्माण गरेको नहरले जिल्लाको कुल ११ हजार हेक्टर जग्गामा सिँचाइ गर्ने क्षमता छ । नहरको मर्मत सम्भार नहुँदा एक दशकदेखि कुल क्षेत्रमध्ये आधा भागमा मात्र सिँचाइ हुने गरेको पाइएको छ । वर्षायाममा आउने बाढीबाट विभिन्न ठाउँमा बर्सेनि नहर भत्किने गरेकोमा त्यसको पनि मर्मत हुने गरेको छैन ।
नहर मर्मत हुन नसक्दा सिँचाइ सुबिधाबाट यहाँका किसान वञ्चित भएका छन् । विसं २०७३ मा आएको भिषण बाढीले जिल्लाको सुब्बाटोल, वुधेवा, महुली, गङ्गाजली, मैनाकडेरी, बढहरालगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो । नहर मर्मतका लागि अहिलेसम्म रु. नौ करोड खर्च गरिएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।
मङ्सिर र पुसमा लगाइएको गहुँ बालीलाई पानी चाहिएको बैलामा चन्द्रनहर वरपरका किसानहरुलाई नै समस्या परेको स्थानीय किसान महेन्द्रप्रसाद यादवको गुनासो छ ।
अहिले विभिन्न ठाउमा नहर जीर्ण छ, जसका कारण सिँचाइमा कठिनाइ भइरहेको देखिन्छ । यो नहर विसं १९८५ मा निर्माण शुरू भई १९८९ मा तयार भएको इतिहास पाइन्छ । नेपालका पहिलो सिभिल इञ्जिनियर डिल्लीजंग थापाले श्री ३ चन्द्रशमशेरको पालामा सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा देशको पहिलो सिँचाइ परियोजना चन्द्रनहर निर्माण थालेको पाइन्छ ।
प्रतिसेकेण्ड चौध घनमिटर पानी प्रवाह गर्ने क्षमताको करिब ३१ किलोमिटर लामो सो नहरबाट १० हजार ५०० हेक्टर जमिनमा सिँचाइको क्षमता छ तर त्यो क्षमता अनुसारको पानी यति बेला प्रवाह हुन सकेको छैन । त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको नहरमा त्यसबेला सिमेन्ट प्रयोग गरिएको थिएन र पाको इँटको धूलो, चुन र मास मिसाई बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको स्थानीयवासीको भनाइ छ ।