• १३ साउन २०८१, आइतबार

बागमतीमा गठबन्धनका उम्मेदवारहरु विजयी

blog

राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका उम्मेदवारहरु ।

राममणि दाहाल 

हेटौँडा, माघ ११ गते । राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका –४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा रहेको मतदान स्थलमा बिहीबार भएको मतदानपछि भएको मतगणनाको मत परिणामअनुसार यस प्रदेशबाट चारैजना राष्ट्रिय सभा सदस्य सत्ता गठबन्धनबाट विजयी हुनुभएको छ ।

अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्यगरी चार क्षेत्र (क्लष्टर) बाट राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन भएको थियो । नेपाली कांग्रेसबाट अन्यतर्फ जीतजङ्ग बस्नेत, महिलातर्फ विष्णुदेवी पुडासैनी, अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र) का श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फबाट नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल विश्वकर्मा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलले बस्नेत, पुडासैनी, अधिकारी र विश्वकर्मा विजयी भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभयो । 

बस्नेतले छ हजार ५३१ मतभार प्राप्त गर्दा र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का त्रिलोचन निर्मल पौडेलले दुई हजार ३५९ मतभार प्राप्त गर्नुभएको छ । यस्तै पुडासैनी छ हजार ६२२ मतभार र उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका रोचकुमारी चौलागाईले दुई हजार ५५२ मतभार प्राप्त गर्नुभएको निर्वाचिन अधिकृतको कार्यालयले जनाएको छ ।

साथै अधिकारीले छ हजार ३८३ मतभार र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विवेक देवकोटाले दुई हजार ७३४ मतभार प्राप्त गर्नुभयो । यसैगरी घनश्याम रिजाल विश्वकर्माले छ हजार ५१२ मतभार र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गर्नुभएको छ । 

निर्वाचनमा प्रदेश सभाका १०८ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३४ जना गरी ३४२ जनाले मतदान गरेका थिए । 

प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १९ कायम गरिएको छ । प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको गरी कुल मतभार १० हजार ३३३ रहेको छ ।

मतदान विहान ९ बजेदेखि सुरु भएको र दिउँसो ३ बजे सम्पन्न भएको थियो । राष्ट्रिय सभा सदस्यका लागि यस प्रदेशमा १५ जना उम्मेदवार रहनुभएको थियो । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महिलातर्फ बालकुमारी डल्लाकोटी, अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजङ्ग गुरुङ उम्मेदवार रहनुभएको थियो ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट अपाङ्गतातर्फ हिमालयश्वर मुल, अन्यबाट श्रीकृष्ण महर्जन, दलिततर्फ सङ्गीता नेपाली र महिलातर्फ कृष्णलक्ष्मी दुवालको उम्मेदवारी रहेको थियो ।