• १३ साउन २०८१, आइतबार

नश्ल सुधारका लागि पशु कृत्रिम गर्भाधान सेवा सुरु

blog

सान्थाक्रास्थित मेरिङ्देन गाउँपालिका कार्यालय । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले नश्ल सुधार गर्नका लागि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । गाउँपालिकाले योजना बनाएरै उन्नत जातको पशुचौपाया उत्पादन गर्नेगरी कृत्रिम गर्भाधान सेवा सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन कार्यविधि २०८० जारी गर्दै पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । गत पुस तेस्रो साता गाउँपालिकाबाट कार्यविधि पारित गरेसँगै सेवा सुरु गरिएको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो । 

सेवा प्रारम्भ भएसँगै हालसम्म दुई वटा भैँसी र एउटा गाईमा कृत्रिम गर्भाधान गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार बाख्रामा पनि कृत्रिम गर्भाधान गराउने प्रक्रिया अघि बढाइनेछ । गाउँपालिकाले कृत्रिम गर्भाधान प्रक्रियामार्फत् नश्ल सुधार गरी व्यावसायिक पशुपालनमा सहयोग गर्ने उद्देश्य राखेर सेवा सुरु गरेको हो । सो सेवाअन्तर्गत गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भाधान गराउने पालिकाले जानकारी दिएको छ । 

गाउँपालिकामा कार्यरत पशु प्राविधिकको टोली किसानको घर दैलोमै पुगेर पशुमा कृत्रिम गर्भाधान सेवा प्रवाह गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्र स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने किसानले सेवा पाउनेछन् । 

कार्यालय समयभित्र कार्यालयबाट नै सेवा प्रवाह गर्नुपरेमा निःशुल्क र किसानको घरमै पुगेर सेवा दिनुपरेमा सम्बन्धित किसानले केही शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको पनि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार पशु प्राविधिकले किसानको घरमा पुगेर पशुमा कृत्रिम गर्भाधान सेवा प्रवाह गर्नु परेमा कार्यालय समयभित्र प्रतिगोटा आठसय रुपियाँ र अन्य समयमा एक हजार २०० रुपियाँ शुल्क बुझाउनुपर्नेछ । बाख्राका लागि भने प्रतिगोटा ५०० रुपियाँ शुल्क निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।