काठमाडौँ, जेठ २८ गते । प्रहरीले २ करोड १ लाख भन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चार जना नियन्त्रणमा लिएको छ । काठमाडौँ २२ प्युखा कृष्ण चोकबाट चारै जनालाई समान सहित नियन्त्रणमा लिइएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारतको कलकत्ता घर भई काठमाडौँ २२ बस्ने ४३ वर्षीय हरिवोर सेख, सोही ठाउँका ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले काठमाडौँमा मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त भई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौँ तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले निज हाविबोर सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा फेला परेका विल भरपाई बिनाका सामाग्रीहरू बरामद गरेको जनाएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।