काठमाडौँ, जेठ २८ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गर्नुभएको हो ।
बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो टिप्पणी गर्नुभएको हो । भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरमको हुनुको सट्टा झन् गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम जनताको पीडा भएको भन्दै सरकार छानबिनमा प्रतिबद्ध हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणबारे सरकार भने जति अझै लचक भएको छैन । भोलिसम्म सरकार जिम्मेवारीपूर्वक र लचकताका साथ प्रस्तुत हुन्छ भन्ने आशा छ । हामी धेरै नरम भएका छौँ, सरकार गरम छ । सरकार अलि नरम र जिम्मेवार हुनुपर्छ । यो विषय प्रतिपक्षको नभई जनताको विषय हो । आम जनताले दुःख पाइराखेको छ । यसबारे छानबिन गरेर तथ्यहरू स्थापित गर्नको लागि सरकार प्रतिबद्धता अनिवार्य हो नि त ।’
भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए नभएको बुझ्न र प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । १३ जेठदेखिको संसद् बैठक अवरोध गर्दै आएका विपक्षी दलहरूले १५ जेठमा बजेट ल्याउन दिए पनि दुई साता बढी हुँदा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।