• ३० जेठ २०८२, शुक्रबार

विपक्षी दलहरूलाई सभामुखको आग्रह: संसद् प्राणहीन बनाउने काम नगर्नुस्

blog

काठमाडौँ, जेठ २८ गते । सभामुख देवराज घिमिरेले संसद् प्राणहीन बनाउने कामहरू नगर्न सांसदहरूसँग आग्रह गर्नुभएको छ । 
प्रतिनिधि सभाको बुधवारको बैठकमा विपक्षी राजनीतिक दलहरूले संसद् अवरुद्ध बनाएसँगै सभामुख घिमिरेले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सदन दुई हप्तादेखि अवरुद्ध रहेको बताउनु भयो । उहाँले देशका समस्याहरू समाधान गर्ने सर्वोच्च निकाय संसद् भएकाले छलफलको वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले सभा सञ्चालन नभएसम्म सांसदले गर्ने काम अघि बढ्न नसक्ने बताउनु भयो । दुई साता यता भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी राजनीतिक दलहरूले संसद् अवरोध गर्दै आएका छन् । 
सभामुख घिमिरेले भन्नुभयो, ‘माननीय सदस्यहरू सदन दुई हप्तादेखि अवरुद्ध छ । देशका समस्या समाधान गर्ने सर्वोच्च निकाय सदन हो । छलफलको वातावरण हामीले बनाउनु पर्छ । त्यो वातावरण बनाउनका लागि बोलिरहनुभएको माननीय सदस्यहरू आसन ग्रहण गरौँ । म दलीय आधारमा फेरि पनि माननीय सदस्यहरूलाई समय दिन्छु । हामी विषयअन्तर्गत छलफल गर्दै जाने वातावरण बनाउनुपर्छ । नत्र सभा सञ्चालन हुन सक्दैन । सभा सञ्चालन नभए सांसदले गर्ने काम गर्न सक्दैन । संसद् प्राणहीन बनाउने कामहरू नगरौँ । त्यसको लागि म माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।’
विपक्षी राजनीतिक दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक बिहीबार ३ बजेलाई बोलाइएको छ ।