विष्णुप्रसाद पोखरेल
दमक, जेठ २८ गते । हात्तीको क्षति न्यूनीकरणका लागि हात्ती छेक्न लगाएको विद्युतीय तारबारमा परेर झापाको कचनकवलमा एक व्यक्तिकाे ज्यान गएको छ ।
हात्तीलाई छेक्न आफैले लगाएको तारबारमा प्रवाह गरेको करेन्ट लागेर बुधवार बिहान कचनकवल गाउँपालिका ७ बैगुनबारी बस्ने ६५ वर्षीय तीर्थनाथ खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बारीमा बाख्रा चराउन जाने क्रममा खनाल आफूले लगाएको तारबारमा आफै पर्नु भएको बताइएको छ । लगाएको अन्नबाली हात्तीले आएर नष्ट गर्न नसकोस् भनेर स्थानीयले तारबार लगाउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । एक साता अघि कन्काई नगरपालिकाको जामुनखाडीमा यस्तै तारबारमा परेर ८ जना घाइते बन्नु भएको थियो ।