• ३० जेठ २०८२, शुक्रबार

जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

blog

यसै साता निर्माण सकिएको प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल ।

सलिम मियाँ

बिजुवार, जेठ २९ गते । गौमुखी गाउँपालिकाको अर्खा लामीडाँडा र देउराली रजवारालाई जोड्ने झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ । पुल सञ्चालनमा आएपछि यसअघि झण्डै डेढ घण्टा लाग्ने पैदल यात्रा अब २०–२५ मिनेटमै तय गर्न सकिने भएको छ ।

दैनिक आवतजावतमा सहजता बढेपछि स्थानीयवासी उत्साहित देखिएका छन् । “पहिले झन्डै डेढ घण्टा उकालो–ओरालो हिँड्नुपर्थ्याे,” गाउँपालिका अध्यक्ष विष्णु गिरीले भन्नुभयो, “अब यात्रा छिटो र सजिलो भएको छ ।”

पुल निर्माणका लागि २ करोड ७२ लाख ७४ हजार रुपियाँमा विसं २०८१ जेठमा ठेक्का सम्झौता गरिएको थियो । योजना अधिकारी÷अपर तामाकोसी जेभीले निर्माण सम्पन्न गरेको हो भने प्राविधिक सुपरिवेक्षण सस्पेन्सन ब्रिज डिभिजन, पुलचोक ललितपुरले गरेको हो ।

पुलको लम्बाइ ३ सय ७३ दशमलव ८० मिटर र उचाइ १८० मिटर छ। यो संरचना जिल्लामै सबैभन्दा लामो तथा अग्लो झोलुङ्गे पुलको रूपमा चिनिएको छ ।

पुल सञ्चालनमा आएसँगै सो क्षेत्रको भौतिक पहुँच मात्र नभई पर्यटनसमेत प्रवर्धन हुने स्थानीयको आश छ । प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त यो स्थान पुल बनेपछि हेर्न आउने स्थानीयको चाप पनि बढेको स्थानीयवासी केदार थापाले बताउनुभयो ।