इटहरी (सुनसरी), जेठ ३० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताउनुभएको छ ।
आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उहाँले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताउनुभयो । “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ”, महामन्त्री थापाले भन्नुभयो ।
उहाँ तामाङ घेदुङको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आउनुभएको हो ।
त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गर्नुभयो । उहाँले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताउनुभयो । रासस