• ३० जेठ २०८२, शुक्रबार

बाढीले डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

blog

बोमलाल गिरी
नवलपुर, जेठ २९ गते ।
बुधबार राति आएको बाढीले डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अवरुद्ध भएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन पुरेपछि बिहबिार बिहान ८ः४५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वर्षातका कारण अचानक पानीको बहाव बढ्न गई डाइभर्सन माथिबाट पानि बगेपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

खोलाले डाइभर्सन पुरेपछि यात्रुबाहक सवारी साधन र साना सवारी साधनहरु होङ्सीगेटबाट सर्दी हुँदै जाने वैकल्पिक सडकबाट पठाइएको र मालबाहक ठुला सवारी साधनहरु दुवैतर्फ एक लाइनमा रोकिराखेको नेपालले जानकारी दिनुभयो ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । खोलाले यो डाइभर्सनमा अवरोध गरेको यो चौथो पटक हो । यसअघि तीन पटकसम्म खोलाले डाइभर्सन बगाएको थियो ।

निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेदेखि सञ्चालन हुने बताइएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो ।