राममणि दाहाल
मकवानपुर, जेठ २८ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले रोग लागेपछि उपचार खोज्नेभन्दा रोग नै लाग्न नदिन जीवनशैली परिवर्तन आवश्यक भएको बताउनुभएको छ। उहाँले औषधीको बढ्दो प्रयोगभन्दा रोग लाग्न नदिने जीवनशैली अपनाउनु नै दीर्घकालीन समाधान भएको बताउनुभयो।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाको आयोजनामा बुधबार हेटौँडामा भएको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बागमती प्रदेशस्तरीय औषधि तथा उपकरणको प्रक्षेपण सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री लामाले आवश्यकता भन्दा बढी औषधि माग गर्ने प्रचलन रहेको बताउनुभयो।
“नियमित व्यायाम गरेमा धेरै रोग लाग्दैन। औषधि वितरणमा भन्दा रोग लाग्न नदिने कुरामा ध्यान दिनुपर्ने बेला आएको छ,” मुख्यमन्त्री लामाले भन्नुभयो।
मुख्यमन्त्री लामाले औषधी र उपकरणको खरिद प्रक्रिया पारदर्शी बनाइनुपर्ने आवश्यकता औँल्याउँदै कम मूल्यमा बोलपत्र पर्नुका कारण गुणस्तर कम हुने गरेको बताउनुभयो।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशस्तरीय र स्थानीय स्वास्थ्य संस्थाको आवश्यकता अनुसारको बजेट विनियोजन गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो।
उहाँले स्वास्थ्य सेवालाई विस्तार गर्न सरकार प्रतिवद्ध रहे पनि बजेटका कारण सेवा दिन कठिन भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले रोग लाग्न नदिन “मेरो लागि एक घण्टा समय” भन्ने नारासहित मन्त्रालयले काम गर्ने बताउनुभयो।
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले अस्पतालमा बिरामीको चाप बढिरहेको र यो चाप व्यवस्थापन गर्न सेवा र पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाले औषधी र उपकरणको कम वा अत्यधिक आपूर्ति हुन नदिन योजना बनाइएको बताउनुभयो।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेश सभा सदस्य भरत केसी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल, सदस्य डा. दिपेन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीलगायतको सहभागिता रहेको थियो।