• १३ साउन २०८१, आइतबार

विभेदविरुद्धको आवाज ‘मासिन्या’

blog

काठमाडौँ, माघ ११ गते । थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि मञ्चन हुने नाटक ‘मासिन्या’ तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेप रहेको नाटकका लेखक राजु स्याङ्तानले बताउनुभएको छ ।

मण्डलामा मङ्गलबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा लेखक स्याङ्तानसहित अर्का लेखक लक्ष्मी रुम्बा, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, ताम्सालिङ सङ्घर्ष समितिका अध्यक्ष गणेश योञ्जनलगायतको सहभागितामा भएको कार्यक्रममा नाटक समूहले नाटकको रचनादेखि मञ्चन यात्राबारे प्रकाश पारेको थियो । स्याङ्तानका अनुसार झन्डै डेढ दुई वर्षअघि नाटक तयार गरिएको हो । 

तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि ‘मासिन्या’ ले त्यसमा टेवा पुग्ने उहाँको विश्वास छ । नाटकले जङ्गबहादुरको समयदेखि अहिलेसम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिँदै गएको छ भन्ने कथा समेटेको दाबी गरिएको छ । उहाँले भन्नुभयो, “हामीले कविता त लेख्यौँ, यतिले पुगेन भन्ठानेर नाटक ल्यायौँ । हाम्रो मौलिकता बोकेको माटो, हाम्रै पीडाको कथा भन्न हामीले नाटकको माध्यम रोजेका छौँ ।”

समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा ल्याउनु समूहको पहिलो प्रयास भएको बताउँदै अर्का लेखक रुम्बाले तामाङको मात्र नभएर नाटकले समग्र राज्यप्रणालीको विभेदमा पिल्सिएका सीमान्तीकृत समुदायको कथा व्यक्त गर्ने सुनाउनुभयो । अहिलेको खुला र गणतान्त्रिक राज्यप्रणालीको समाजमा सबैले आफ्नो कुरा राख्न सिर्जनात्मक बाटो रोज्नुपर्ने अध्यक्ष गोलेले सुनाउनुभयो । 

माघ २८ सम्म मञ्चन हुने नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाको छ । नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रूपेश तामाङ, इङ्गिहोपो कोइँच सुनुवारलगायतका कलाकारको अभिनय छ ।