• ११ मंसिर २०८१, मङ्गलबार

किरात बाहिङ संस्कृति 'हंङ बोचो'

blog

हंङ सीली गर्दै ।

धिरेन सुस्तोचा बाहिङ

काठमाडौं, माघ १० गते । बाहिङ जाति अल्पसङ्ख्यक जातिमध्ये एक हो । राष्ट्रिय तथ्याङ्क २०७८ अनुसार छ हजार पाँच सय ४७ जाति र भाषा वक्ताको रूपमा १४४४९ रहेको छ । 

बाहिङ जातिहरूको मूलथलो ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला हो । बाहिङ जातिभित्र महत्त्वपूर्ण पितृ संस्कारलाई उच्च मान्यताका साथ पुज्ने गरिन्छ । प्रत्येक वर्षको माघ महिनाभित्र मानिने पितृ पूजाहरूमा मोसुम, नाग्ले, तुमाताम, ताम, ध्येतामपछिको विशिष्ट प्रकारको पितृ संस्कार गरिने प्रचलन छ जसलाई 'हंङ बोचो' भनिन्छ । हंङ गर्दा उहिले सात दिन सात रात गर्ने प्रचलन थियो, पछि पाँच दिन पाँच रात मान्ने प्रचलन भयो हाल समय परिस्थितिले तीन दिन तिन रात हंङ गर्ने गरिन्छ । 

हंङ गर्ने घरमा मुलुचाको नेतृत्वमा दाजुभाइ भेला भई ध्यवानक्सो, ङाबुचा, चयाचा र दाजुभाइको सल्लाह गरी हंङ गर्ने तिथि तोकिन्छ । पितृका लागि पवित्र जाँड बनाउन चाहिने मर्चा समाजका कोख रहेको वृद्ध महिलालाई मर्चा बनाउने जिम्मा तोकिन्छ । सिकार खेल्ने सेख्लीचा २ जना, पाहा, माछा, बँदेल, मृग, सिकार गर्ने जिम्मेवारी दिइएको हुन्छ । 


लिसो पासो थाप्ने बर्गाचा, धनुकाँड चलाउने ब्लाचा, विधि अनुसारको मासुको काम गर्ने सेचा, पितृको नाममा सोह्र घैटा जाँड जसलाई 'ची' भनिन्छ । त्यसको व्यवस्थापन गर्ने चिचा, पितृका लागि अन्न भण्डारण व्यवस्थापन गर्ने बुरोचा, काउलोको व्यवस्थापन गर्ने स्याल्फोचा, चुरी ख्वासी बनाउने चुरीचा ख्वासीचा, पितृको नाम बाँस ल्याउने सारीसिङ्चा, पितृडोरी बाँट्ने ग्राचा, भातभान्सा पानी, थालभाडा र कुटान पिसान गर्ने कजेरी, हातहतिया व्यवस्थापन गीजोचा, पितृसंस्कारमा नाच्ने मसिचा मसिमी, कचुड सङ्कलन गर्ने ङार्मोचा जसलाई जिम्मेवारी बहन गर्ने कर्मचारीलाई कायामी कायचा भनिन्छ । जसलाई दयाल मुलु वा ङप्सी मुलुले जिम्मेवारी दिने गरिन्छ । 

हंङ पितृ मान्दा पहिलो दिन नग्लेमो अर्थात् सामान्य पितृ पूजा नक्सोले हंङ गर्ने घरमा गर्छन् । नाग्लेमो सम्पन्न गरेपछि, आँगनमा विधि अनुसार बागलुङ(विधि अनुसारको ढुङ्गा) आठ थान राख्ने र चोखो तिनाे राख्छन् । आँगनको भित्तामा चुरी ख्वासी वा विधि अनुसार बाँसको सारीसिङ् गाड्ने गरिन्छ र आँगनमा मसिचा मसिमीले दयामबुलदीम्चो नाच गर्छन् । 

दोस्रो दिन पुनः नाग्लेमो गरिसकेपछि आँगनमा ध्यवानक्सो, ङाबुचा, चयचा बसेर हंङ गर्दा सुम्नीलो अर्थात् उत्पत्तिको कथाका फेहरीस्त फलाकिने गरिन्छ । पृथ्वी लगायत ९ वटा ग्रहहरूको सृष्टि, वाफ, वर्षा, पानी, खोला, नदी र समुन्द्र हुँदै गिलो पृथ्वी चिसिएर ठोस बनेको कुरा, पृथ्वी चिसिएर हिम युगको सुरुवात भई पुनः आकाश र धर्तीको संसर्गबाट मामाचुनिमो जन्म भई उनीबाट जन्मिएको मामानिनिरेङ्मा मरेङ्माले सृष्टि गरेको वनस्पति, चराचुरुङ्गी, मसिनो जीवजन्तु हुँदै बाघ, भालु, बाँदर र अन्तिम सन्तानको रूपमा निनानाप्चा(मानव)को जन्म दिएको र मामानिनिरेङ्माले पृथ्वीको प्रशासन चलाउने जिम्मेवारी निनानाप्चालाई सुम्पेका थिए । जसरी ध्यवानक्सोले उत्पत्तिका वर्णन गदै गर्दा मसिमी मसिचाले नाचको माध्यमबाट ध्यवानक्सोको वर्णन अनुसार नाचबाट प्रस्तुत गर्छन् । 

उत्पत्तिको कथापछि बाहिङ पूर्खाबाजेलाई तलबाट माथि ल्याउने कथा हुन्छ जसलाई किकी कुचो भन्ने गरिन्छ । प्राचिनकालमा किरात बाहिङ पुर्खाहरूले आफूले विचरण गरेका ऐतिहासिक भूमि, मातृभूमि, पितृभूमि र राज्यभूमिहरु पुर्खाले गरेको घटनाहरुको स–विस्तार वर्णन गर्नेकाम ध्यवानक्सोले प्रारम्भ गर्ने चलन छ । त्यसैगरि हजुरआमा माथिबाट तलतिर कथा मार्फत वर्णन गर्दै तल झार्ने गरिन्छ र घरको आँगनमा हजुरबुबा र हजुरआमा दुबैलाई भेट गराउने कथा मार्फत गर्ने गरिन्छ । जसरी ध्यवानक्सोले किकीकुचो वर्णन गर्ने गर्छन् र सोही अनुसार मसिमी मसिचाहरुले नाच र अभियान अनुसार प्रस्तुत गर्ने गर्छन् । 


अन्तिम दिन कक्तीसाला रिनाहंङ जसले पहिलो हंङ संस्कृतिको विकास गरेका थिए । उनले गरेको दुख, सिकार, जङ्गलमा कन्दमूल खोजी, दुधकोशी नदिमा माछा जालमा मारेर जिउन गरेको सङ्घर्ष, आफ्ना दुई दिदी जाउमा र ख्लीउमाले कपास खेती गरी धागो कातेर लुगा बुनेर कपडा उद्योगको सुन्दर नमुना दिए । 

यतातिर कक्तीसालाले माछा मार्न जाँदा जालमा परेको ढुङ्गाबाट सुन्दर महिलाको रुपधारण गरेकी लुङ्छीरीङ्मासँगको जोडी बाँधेर कक्तीसाला बसेका थिए । ढुकुरको सिकार गर्दा ढुकुरको गजेरोमा रहेको मकै, धान, कोदो, फापर, गहत जस्ता अन्नहरू देखेपछि लुङछीरीमाले यो त मानवले खाने अन्न भएको भन्दै जुठेल्नो पाखा तिर छरे, पछि कक्तीसालाले पाखाभरी छरी दिए । धर्ती तातियो पानीका मूलहरू फुटे र वर्षा भयो । उनीहरूले छरेको अन्न उम्रेर सबै अन्न मौलाएर राम्रो अन्न फल्यो । उनीहरूसँग अन्न राख्ने घर र अन्नभण्डार थिएन । त्यसका लागि धर्ती मातामा पहिलो घर बनाउनका लागि बुढाबुढीले सल्लाह गरे । घर त बनाउने कसरी कस्तो खालको बनाउने ? लुङ्छीरीङ्माले आफ्नो लोग्नेलाई चिभेचराको पुच्चछर जस्तो खाँबो भएको रुख काटेर ल्याउन सिकाए । हालको गाउँघरमा रहेको पुराना घरको खाँबोको प्रयोजनको प्रारम्भ भयो । यसरी लुङ्छीरीङ्मा एक नारि भएर प्राचिनकालका इन्जिनियरको भूमिका निभाएका थिए । 

दुवै बुढाबुढी मिलेर घरको खाँबो गाड्न खोज्दा खाँबो कहिल्यै ठडिएन ढलिरह्यो । यसरी ठड्याउने प्रयासमा लुङ्छीरीङ्माको ढाँडमा बोकेको बच्चा खाँबो गाड्ने खाल्डोमा खस्नु पनि दुवैले खाँबो उचालेर खाल्डोमा हाल्नु एकै साथ हुँदा बच्चा खाँबोले पिसिएर म¥यो र खाँबो पनि ठडियो यसरी मानव भोग धर्ती माताले लिई पहिलो पृथ्वीमा घर ठडियो । पितृ सम्मानका लागि झाँक्री हेर्न लगाउँदा हंङ गर्नुपर्ने जुरेको हुँदा कक्तीसालाले चेली जाउमा र ख्लीउमा निम्तो गरी हंङ बोचो पितृ मान्नु भएकोले हालसम्म बाहिङ जातिले हंङ बोचो गर्दै आएको छ । 

हंङ पितृपूजाको सबै भन्दा ठुलो पूजा हो । पितृ सम्मान गरी पितृ आर्शिवादलिई भावी पुस्ताको उन्नति प्रगतिका लागि शुभकामना आदान प्रदान हुने गर्छन् भने माघभरि पितृकार्य गरिने भएकोले अन्य समुदायले माघे राजा भन्ने गरिन्छ ।