• १३ साउन २०८१, आइतबार

लम्पीस्किनबाट गाईगोरुको मृत्यु ‍: पाँच करोडको क्षति

blog

लम्पीस्कीन सङ्क्रमित गाईगोरु । तस्बिर : राधा नेपाली ।

राधा नेपाली 

सन्धिखर्क, माघ ८ गते । अर्घाखाँचीमा लम्पीस्किन (काप्रीपक्स भाइरस) बाट सङ्क्रमित हुने गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको क्षति भएको छ । गत वैशाखदेखि गाईगोरुमा लम्पीस्कीन देखिन थालेको थियो र हालसम्म ३४२ गाईगोरुको मृत्यु भएको छ । 

हाल सङ्क्रमित गाईगोरुको सङ्ख्या सात हजार २४१ पुगेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका अनुसार हालसम्म छ हजार ८१० गाईगोरुको उपचार गरिएको छ । लम्पी स्किनबाट गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको रुपियाँको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । यस्तै, पाँच हजार ५७७ गाईगोरुलाई खोप दिइएको छ । उहाँले भन्नुभयो, “जिल्लामा लम्पी स्किन सङ्क्रमित हुने गाईगोरुको सङ्ख्यामा कमी आएको छ र तर नियन्त्रण भएको छैन । नियन्त्रणभन्दा बाहिरको अवस्था पनि होइन । उपचारमा टोली नै बनाएर खटिरहेका छौँ ।”  

जिल्लामा गएको ५ महिनामा १०८ गाईगोरुको मृत्यु भएको छ । केन्द्रका अनुसार सन्धिखर्क नगरपालिकामा ६४७ वटा गाईगोरु सङ्क्रमित भएकोमा ४५ वटाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिकामा एक हजार ९० गाईगोरुमा सङ्क्रमित भएकोमध्ये ६५ वटाको मृत्यु भयो । 

सितगंगा नगरपालिकामा तीन हजार ५० सङ्क्रमित भएकोमा १०३ गाईगोरुको मृत्यु भएको छ । पाणिनी गाउँपालिकामा एक हजार २७१ सङ्क्रमितमध्ये ७३ र मालारानी गाउँपालिकामा ५६७ मध्ये ६० गाईगोरुको मृत्यु भएको छ । त्यस्तै, छत्रदेव गाउँपालिकामा ४१६ संक्रमित गाईगोरु मध्ये पाँच वटाको मृत्यु भएको छ ।

प्रमुख पौडेलका अनुसार हाल खोपलाई तीव्रता दिइएको छ । घाउमा लगाउने औषधी र एन्टीवायोटिक दिइएको छ । झिँगा लामखुट्टे, किर्ना लगायतका परजीवीको टोकाइबाट गाईगोरुलाई बचाउने उपायहरू अवलम्बनका लागि कृषकलाई अभिमुखीकरण गरिएको पौडेलले बताउनुभयो । 

लम्पी स्किन सङ्क्रमण भएपछि गाईगोरुले कचेरा निकाल्ने, सिँगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठुला गिर्खा तथा फोका देखिनुका साथै ज्वरो आउँछ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने गाई भैँसीको गर्भ पनि तुहिन्छ । 

केन्द्रका अनुसार अर्घाखाँचीमा एकलाख १० हजार भैँसी र ४० हजारभन्दा बढी गाईको सङ्ख्या छ ।