• २१ वैशाख २०८१, शुक्रबार

तराई मधेशमा शीतलहर

जनजीवन कष्टकर, बिरामी बढे

blog

शीतलहरका कारण सुनसान पूर्वपश्चिम राजमार्गको बर्दीबास खण्ड । जाडो छल्न धनगढीमा आगो ताप्दै सर्वसाधारण । तस्बिर : रवीन्द्र उप्रेती/अविनाश चौधरी

काठमाडौँ, माघ ८ गते । शीतलहरले समग्र तराई मधेशका बासिन्दाको जनजीवन डेढ सातादेखि कष्टकर बनाएको छ । कतै कतै भने तीन सातादेखि शीतलहरले कहर सिर्जना गरेको छ । बाक्लो हुस्सु र स्याँठले विशेष गरी ज्येष्ठ नागरिक, सुत्केरी र बालबालिका बढी प्रभावित छन् । 

चिसोका कारण सार्वजनिक स्थलमा दाउरा बालेर सामूहिक रूपमा आगो ताप्ने दैनिकी बनेको छ । शिक्षण संस्था केही दिनका लागि बिदा दिइएको छ । कतिपय स्थानीय तहले टोल टोलमा दाउरा वितरण गरेका छन् भने आर्थिक रूपमा विपन्न बासिन्दाले स्थानीय तहसँग न्यानो लुगाको आशा गरेका छन् ।सिराहामा जनजीवन कष्टकर र सबै क्षेत्र अस्तव्यस्त बनेको छ । दिनभर काम गरेर साँझ बिहानको छाक टार्ने विपन्न परिवार ओढ्ने ओछ्याउने र लाउने लुगा नहुँदा बाँच्नका लागि निकै सङ्घर्षमा छन् । 

पचहर्वाका रामदयाल सदाका अनुसार चिसोले बिरामी भएपछि उपचार पाउन नसकेका धेरै छन् । प्रदेश सरकार र स्थानीय तहले गरिब तथा विपन्न वर्गलाई चिसोबाट बचाउन आवश्यक प्रबन्ध मिलाउने आश्वासन दिए पनि सहयोग पाएका छैनन् । 

कम्बल गोदाममा

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता मोहम्मद समिमले कम्बल खरिद गरेर शुक्रबार साँझ ल्याइसकिएको र तिनलाई गोदाममा राखिएको जानकारी दिँदै खरिद प्रक्रियाका कारण वितरणमा ढिलाइ भएको बताउनुभयो । मधेश प्रदेश सरकारले पुस २३ गते शीतलहरबाट प्रभावित २० हजार विपन्न परिवारलाई कम्बल वितरण गर्ने घोषणा गरे पनि अझैसम्म कम्बल वितरण भइसकेको छैन । सोमबारदेखि पहिलो चरणमा सप्तरी, सिराहा, धनुषा र सर्लाहीमा कम्बल वितरण थालिने र प्रत्येक जिल्लामा दुई हजारका दरले कम्बल दिइने उहाँले बताउनुभयो ।

श्वासप्रश्वासमा समस्या

रौतहटमा शीतलहरले एकसरो लुगाले जीवन निर्वाह गर्नुपर्ने दुसाध, चमार, मुसहरलगायतका समुदायका व्यक्ति कष्टमा छन् । चन्द्रपुर नगरपालिका–८, डुमरियाका हरेन्द्र रामले आङ ढाक्ने न्यानो कपडा नहुँदा गरिब र विपन्न व्यक्ति कठ्याङ्ग्रिएर बसिरहेको बताउनुभयो ।

वन क्षेत्रको पर्ती जमिन, नदी किनार तथा ऐलानी जमिनमा अव्यवस्थित रूपमा बसोबास गरिरहेका अति विपन्न समुदायका व्यक्ति घरआँगन, चोकमा घुर तापेर दिउँसोको जाडो छलिरहेका छन् । घुरको धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । गुजरा नगरपालिका–७ का हरदेव पासवानले जाडोको कारण अन्यत्र गई ज्याला मजदुरी गर्नसमेत नसक्ने अवस्था रहेको बताउनुभयो । 

बर्दीबासमा जाडोले सडक, बजार र सार्वजनिक स्थलमा आवागमन घटेको छ । चिसो बढेको र घाम नदेखिनाले तापक्रम निकै घटेको छ । सरकारी कार्यालयमा सेवाग्राही पातलिएका छन् । सर्वसाधारण काम गर्न नसकेर सडक छेउछाउ घुर तापेर समय कटाइरहेका देखिन्छन् । बाक्लो हुस्सुले अपराह्नसम्म पनि ‘भिजिबिलिटी’ कम हुँदा राजमार्ग क्षेत्रमा हेडलाइट बालेर सवारीसाधन गुड्ने गरेका छन् । बढ्दै गएको जाडोको प्रभाव शिक्षा, स्वास्थ्य, भातभान्सा र कृषि क्षेत्रमा देखिन थालेको छ । 

बिरामीको चाप बढ्यो

मधेश प्रदेश स्वास्थ्य निर्देशक डा. राजीव झाका अनुसार लम्बिँदै गएको शीतलहरका कारण कोल्ड डाइरिया, भाइरल ज्वरो, क्रोनिक कफ, रुघाखोकी, श्वासप्रश्वास, हाडजोर्नी जस्ता बिरामी बढ्न थालेका छन् । 

झापा, मोरङ र सुनसरीमा शीतलहर र बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि जाडो बढेको छ । चिसो बढेसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होमलगायत स्थानीय अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढेको छ । चिसोका कारण निमोनिया, कोल्ड डाइरिया, रुघाखोकी, ज्वरोका बिरामी बढेका तथा दम, पक्षाघात रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको पूर्वाञ्चल विश्वविद्यालय अस्पतालका निर्देशक डा. शशी शर्मा रिजालले बताउनुभयो । 

विराटनगरका साथै सुनसरीको इटहरी, झुम्का, इनरुवा, दुहबीलगायत विभिन्न स्थानका गल्ली गल्ली र चोक चोकमा आगो तापेर बसिरहेका मानिस भेटिन्छन् । सुनसरीको इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाले एक सातादेखि विद्यालय बिदा दिएका छन् । विराटनगर विमानस्थलबाट हुने नियमित उडानसमेत प्रभावित हुँदै आएका छन् । अधिक चिसो बढेपछि त्यसको प्रभाव व्यापारिक क्षेत्रमा पनि परेको छ । बजार सुनसान हुन थालेको छ ।

धनगढीमा स्थानीय बासिन्दा आगोको भरमा बाँचिरहेका छन् । धनगढी उपमहानगरपालिका–१, शिवनगरकी मायादेवीले आगोको भर पर्नु परेको गुनासो गर्दै उपमहानगरपालिकाले दाउरा दिएर गएपछि केही राहत भएको बताउनुभयो ।

जाडोका कारण पठनपाठन प्रभावित हुन थालेपछि विद्यालयमा जाडो बिदा दिइएको छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई निमोनिया, बालबालिकालाई भाइरल डाइरिया हुने, रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या हुने गरेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा. शेरबहादुर कमरले बताउनुभयो । 

तरकारी बाली सखाप

अत्यधिक चिसोका कारण तराई मधेशको हिउँदे तरकारी बाली सखाप भएको छ । डढुवा रोगका कारण आलु, टमाटर सोत्तर भएको कैलारी गाउँपालिकाका कृषि शाखा प्रमुख मैयाँ चौधरीले जानकारी दिनुभयो । कृषकले पालेका पङ्गास प्रजातिका माछा चिसोका कारण पोखरीमै मरिरहेका छन् ।

जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शीतलहर प्रतिकार्य कार्ययोजना लागु गरेको छ । जिल्लामा सर्वसाधारणलाई शीतलहरको प्रभावबाट जोगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर विभिन्न ठाउँमा दाउरा बाँड्ने र आगो बाल्ने कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । कैलालीको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले दाउरा वितरण कार्य थालिएको बताउनुभयो । 

जिल्ला विपत् व्यवस्थापन समिति बाँकेका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले समितिले तयार पारेको शीतलहर आकस्मिक योजना अनुसार नागरिकलाई शीतलहरबाट जोगाउने कार्य भइरहेको बताउनुभयो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले चिसो अत्यधिक बढेपछि नगरपालिकाका ९५ स्थानमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाएर अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बताउनुभयो । रुपन्देहीमा चिसो बढेपछि रुपन्देहीको बुटवल उपमहानगर र सैनामैना नगरपालिकाले विद्यालयमा तीन दिन जाडो बिदा दिएका छन् । बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरभित्रका सबै विद्यालयमा माघ ७ देखि ९ गतेसम्म बिदा दिएको बताउनुभयो ।

चिसो बढेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा वृद्धवृद्धा र बालबालिकाको चाप बढेको छ । चिसोका कारण निमोनिया, दम, ज्वरो, रुघाखोकीलगायतका बिरामी उपचारार्थ अहिले आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिनुभयो । कपिलवस्तुमा विभिन्न विद्यालयले चिसो बढेपछि जाडो बिदा दिएका छन् । हुस्सु लागेका कारण जिल्लाभर बिहानदेखि साँझसम्म जनजीवन अत्यन्त प्रभावित भएको छ । पालिकाहरूले दाउरा उपलब्ध नगराए पनि स्थानीयले आफैँ दाउराको जोहो गरेर चोक चोकमा ताप्ने व्यवस्था मिलाएका छन् । 

(सचिन पोख्रेल/इटहरी, विजयकुमार साह/ढल्केबर, यादवराज पुरी/रौतहट, रवीन्द्र उप्रेती/बर्दीबास, छवि पाण्डे/बुटवल, नारद कोहार/तौलिहवा, सिराज खान/बाँके र अविनाश चाँधरी/धनगढीको सहयोगमा ।)