• १३ साउन २०८१, आइतबार

पहिलो पटक बरघर ऐन पारित

blog

नेपालगन्ज समाचारदाता  

नेपालगन्ज, माघ ७ गते । बाँकेको वैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक थारू समुदायमा विद्यमान बरघर प्रथालाई कानुनी मान्यता दिएको छ । वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले थारू समुदायमा रहेको बरघर प्रथालाई व्यवस्थित गर्न सो प्रथालाई कानुनी मान्यता दिएको बताउनुभयो । उहाँले गाउँपालिकाले बरघर प्रथालाई कानुनी मान्यता दिँदै ऐनसमेत बनाएर गाउँ सभाबाट पारित गरेको जानकारी दिनुभयो ।  

थारू समुदायको बाहुल्य रहेको वैजनाथ गाउँपालिकाको क्षेत्रभित्र रहेका बरघरलाई संस्थागत रूपमा परिचालन गर्ने उद्देश्यले निर्माण गरिएको ‘बरघर ऐन–२०८०’ लाई १४ औँ गाउँ सभाले पारित गरेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले बरघर ऐन २०८० लाई गाउँ सभाले सर्वसम्मत रूपमा पारित गरेसँगै बरघर प्रथाले कानुनी मान्यता पाएको बताउनुभयो । 

बाँकेमा नै पहिलो पटक गाउँपालिकाले ल्याएको सो ऐनमा बरघरको चयन, उनीहरूको कार्यक्षेत्र, काम, कर्तव्य, अधिकार, मर्यादालगायतका कुरा समेटिएका छन् । बरघरले आफ्नो कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमविपरीत नहुने गरी काम गर्नुपर्ने ऐनमा उल्लेख गरिएको छ । 

गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले भन्नुभयो, “बरघरले गाउँपालिकाका जनप्रतिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँटोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउने जस्ता प्रावधान ऐनमा तोकिएको छ । बरघर प्रथामा सहायक बरघर र चौकीदारको काम, कर्तव्य र अधिकारसमेत उल्लेख गरिएको छ ।” बरघर प्रथाभित्र रहेका विकृतिलाई नियमन गर्दै उनीहरूले गर्ने सामाजिक कार्यलाई अभिलेखीकरण गर्न ऐनले सघाउ पु¥याउने उपाध्यक्ष रोकायाले बताउनुभयो । 

गाउँपालिकाले बरघर प्रथालाई कानुनी मान्यता दिएपछि पालिकाभित्रका बरघर खुसी भएका छन् । वैजनाथ गाउँपालिकाका बरघर रामचरण थारूले जिल्लामा नै पहिलो पटक पारित गरिएको बरघर ऐनले थारू समुदायमा विद्यमान बरघर प्रथालाई संस्थागत गर्ने र बरघर प्रथाभित्र भएका विकृति विसङ्गति हटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । माघी पर्वको अवसरमा माघ २ गते थारू समुदायमा बरघर छनोट गर्ने परम्परा रहेको छ । 

वैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादवका अनुसार गाउँसभाको बैठकले सहकारी ऐनलाई संशोधन गर्नुका साथै व्यवसाय दर्ता ऐनलाई संशोधनसहित पारित गरेको छ । उहाँले गाउँ सभा सम्पन्न भएकोले अब चालु आर्थिक वर्ष २०८०/८१ का योजना तथा कार्यक्रमलाई तीव्र गतिमा कार्यान्वयनतर्फ लैजानेतिर लाग्ने बताउनुभयो ।