• १८ असार २०८१, मङ्गलबार

बालबालिका विद्यालय छाड्ने जोखिम

blog

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक तथा हाल कर्णाली प्रदेशका सचिव चुडामणी पौडेल शनिबार यहाँ आयोजित कार्यक्रममा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ ६ गते । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा युनिसेफ र ग्लोबल एक्सन नेपालले विद्यालय बाहिर रहेका बालबालिका अवस्थाको अध्ययन गरी शनिबार नेपालगञ्जमा प्रतिवेदन प्रबोधीकरण कार्यक्रम गरेका छन् । प्रतिवेदनमा लुम्बिनीको सिस्ने गाउँपालिकालाई केन्द्रित गरिएको छ । 

प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकालले लुम्बिनी, कर्णाली र मधेस प्रदेशमा विद्यार्थीको विद्यालय छाड्ने अवस्थालगायतमा केन्द्रित भई प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो । 

निर्देशक ढकालले भन्नुभयो, ‘के कारणले विद्यार्थीले पढाइ बिचमा छाडेका छन्, त्यसका जोखिम के छन् भनेर अध्ययन गरिएको छ’ प्रस्तुत प्रतिवेदन अनुसार नेपालभरि ५ देखि १७ उमेर समूहका ११.३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेकोमा बाँकेमा १७.९ प्रतिशत छन् । कपिलवस्तुमा १६.२ प्रतिशत छन् ।

कक्षा १–५, ६–८, ९–१२ सम्म पनि विद्यालय बाहिर हुनेमा बाँके र कपिलवस्तुका सबैभन्दा बढी छन् । यसैगरी लुम्बिनीमा १–५ सम्म अध्ययन गरिरहेका मध्ये २०.७ प्रतिशत विद्यार्थी जुनसुकै समयमा पनि विद्यालयबाट बाहिर हुने जोखिममा छन् । ६–८ सम्म ३३ प्रतिशत र ९–१२ का ७८.९ प्रतिशत विद्यार्थी जुनसुकै समयमा विद्यालय बाहिर हुन सक्ने जोखिममा रहेको बताइएको छ । 

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक तथा हाल कर्णाली प्रदेशका सचिव चूडामणि पौडेलले विद्यार्थी एक जना पनि विद्यालय बाहिर नहुन र जान नपरोस् भनेर कारण पहिचानका लागि अध्ययन गरिएको बताउनुभयो । 

प्रमुख सचिव पौडेलले भन्नुभयो, ‘किन बिचैमा पढाइ छोड्छन, त्यसमा नीतिगत र कार्यान्वयनमा के कस्ता कमजोरी छन् भनेर यो अध्ययन गरिएको हो ।’ 

शिक्षामा लामो समयसम्म एउटैखालको अवस्था विद्यमान रहनु सबैको कमजोरी भएको उहाँको भनाइ छ । विद्यार्थीलाई विद्यालयमा टिकाउन र सिकाउन केन्द्र, प्रदेश र स्थानीय तहबिच समन्वय जरुरी भएको उहाँको भनाइ छ ।