• १३ साउन २०८१, आइतबार

राष्ट्रिय गौरवका आयोजनाको छनोटमा पुनर्विचार गर्नुपर्छः मन्त्री बस्नेत

blog

सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनोटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राख्नुभएको  हो । शुक्रबार सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताउनु भयो ।


मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने कुनै मनशाय नरहेको जिकिर गर्नुभयो । विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको मन्त्री बस्नेतको स्पष्टिकरण थियो । उहाँले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताउनु भयो ।

‘‘अब राष्ट्रिय गौरवको आयोजनाहरु भनि सकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानुनी व्यवस्था अलि विशिष्ट रुपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो । तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरुको छनोट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसंगमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ । यसलाई समग्रमा नै फेरि एकपटक रिभ्यु गर्ने, छलफल गर्ने समय पनि आएको जस्तो लाग्छ ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘र त्यो ढङ्गले छलफल हुनु सान्दर्भिक नै हुन्छ भन्ने मलाई लाग्दछ । जे इन्फरमेशन आइराखेको छ, त्यो कुरा सही होइन । अझ हामी त साथीहरुलाई ६ महिना त्यही बसेर काम गरिदिनुस भनेर अनुरोध गरी राखेका छौं । दुई वर्ष पुगेका वा नपुगेर पनि हामी कहाँ सरुवा माग्न आईरहेका साथीहरुलाई पनि अरु ६ महिना बसेर काम गरिदिनुस्न हो भनेर हामीले अनुरोध नै गरिरहेका छौं । त्यसकारण अहिले हाम्रो स्प्रिरिट कम्तिमा दुई वर्षभन्दा अगाडि कोही पनि राष्ट्रिय गौरवको आयोजना प्रमुखहरुलाई चेन्ज गर्ने मन्त्रालयको, विभागको त्यो स्पिरिट हुँदैन । र, विशेष परिस्थिति नभइकन हामीले परिवर्तन गर्ने कुरा आउँदैन ।’’

बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई महत्त्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद इन्दु कडरीयाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरुको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय गौरवको आयोजना भनिएको छ । वर्षौंसम्म अलपत्र पारिएको छ । वर्र्षौसम्म राष्ट्रिय गौरवको आयोजना बन्दैन । यसलाई बढी महत्त्व दिएर समयमै सक्ने काम होस् भन्न मैले चाहेँ । अर्को राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएको छ । अनि सुरु नै हुँदैन । जस्तो राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएको पश्चिम सेती जलविद्युत आयोजना ३० वर्षदेखि सुरु भएको छैन । राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गर्ने अनि सुरु नै नगर्ने । यो अवस्था नआओस् ।’’

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले देशलाई समृद्धि बनाउनेभन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढाइएको जिकिर गर्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।

‘‘देशको समृद्धिसँग अन्तरविरोधीजस्तो महशुस हुन्छ । लागत बढिराखेको छ । खेती गर्ने युवा विदेश पलायन भइराखेका छन । जमिन टुक्रिराखेको छ । यता, राष्ट्रिय गौरवको आयोजनाहरुको अवधि लम्बिराखेको छ भनेपछि यसले विकास गति लिन्छ कि लिन्न ? भन्दाखेरी यो जे हामीले दिगो विकास लक्ष्य हासिल गर्ने भनेका छौं । राष्ट्रलाई समृद्ध बनाउने भनिराखेका छौं ।,’’ सांसद आछामीले भन्नुभयो, ‘‘यो चाहीँ चुनौतिपूर्ण छ जस्तो लाग्छ मलाई । अब यी आयोजनाहरु चाँडै सम्पन्न गर्नका लागि स्रोत, साधनको परिचालनमा ध्यान दिनुपर्छ । जनशक्ति पनि त्यही केन्द्रित हुनुपर्‍यो नि । राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट केन्द्रित गर्ने र त्यसलाई अघि बढाउने कुरामा सरकार गम्भीर हुनुपर्छ । र भइरहेको जस्तो पनि लागेको छ ।’’
सांसद आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुमा बजेटको अभाव हुन नदिन पनि सरकारलाई सुझाव दिनुभयो ।