• १३ साउन २०८१, आइतबार

दैनिक दुई दुर्घटना मासिक पाँच जनाको मृत्यु

blog

रवीन्द्र उप्रेती

बर्दीबास, माघ ५ गते । सवारीसाधनको बढ्दो चापसँगै महोत्तरीमा ट्राफिक नियम उल्लङ्घन बढ्दै गएको छ । असुरक्षित सडक र नियम पालना नगर्ने प्रवृत्तिले सवारी दुर्घटनाको सङ्ख्या पनि थपिँदै गएको छ । बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि पुससम्म १८२ दिनको अवधिमा महोत्तरीमा २६५ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी २५ पुरुष र छ महिला गरी ३१ जनाको ज्यान गएको छ भने घाइते हुनेको सङ्ख्या ४११ जना पुगेको छ । 

जिल्ला ट्राफिकको यो तथ्याङ्कले महोत्तरीमा दैनिक दुई वटा सवारी दुर्घटना भएको र यी दुर्घटनाबाट मासिक पाँच जनाभन्दा बढीको मृत्यु हुने गरेको पुष्टि गरेको छ । यस अवधिमा सबैभन्दा बढी २५२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने ठुला सवारीमा १२ वटा बस, सात ट्रक र एक टिप्पर रहेको ट्राफिकले जनाएको छ । बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि प्रयास र पहल जारिरहेको बर्दीबासस्थित जिल्ला ट्राफिकको दाबी छ । 

दुर्घटनाका प्रमुख कारण बनेका जर्जर एवं अतिक्रमित सडक, छाडा चौपाया, लत्रेका विद्युत् तार, वन्यजन्तु मैत्री संरचना अभाव, प्रतिकूल मौसम जस्ता समस्याप्रति सम्बद्ध निकाय गम्भीर नहँुदा पनि दुर्घटना नियन्त्रणमा समस्या देखिएको छ । सवारी दुर्घटनाका अन्य कारणमध्ये तीव्र गति, हेलमेट नलगाउने प्रवृत्ति, मादक पदार्थ सेवन, लापरबाही जस्ता प्रवृत्तिगत कारण नियन्त्रणका लागि ट्राफिकले नियमित जाँच, अटेर गर्नेमाथि कारबाही तथा सचेतीकरण जस्ता अभियान सञ्चालन गर्दै आएको ट्राफिक प्रमुख (प्रनि) रामक्त भट्टराईले औँल्याउनुभयो ।

अर्कोतर्फ दुर्घटना न्यूनीकरणका लागि विभिन्न चरणमा सडक सुरक्षा अभियान, सवारी जाँच, सचेतनामूलक कार्यव्रmम, चाडपर्वलक्षित सुरक्षा जस्ता कार्यक्रम आयोजना गर्दै आएको उहाँको भनाइ छ । यस क्रममा साउनदेखि पुससम्म ६ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने १६ हजार १३६ सवारीमाथि कारबाही गरी एक करोड ३६ लाख ८८ हजार ५०० रुपियाँ राजस्व असुल गरेको उहाँले जनाउनुभयो । “घटना नियन्त्रणका लागि अहिले रात्रिकालीन जाँचका साथै स्टिकर अभियानलाई तीव्रता दिएका छाँै,” उहाँले भन्नुभयो, “ट्राफिक नियम पालनामा अटेर गर्ने र यात्रुलाई दुःख दिने सवारीलाई ट्राफिक भायलेसन रेकर्ड सिस्टम (टिभिआरएस) अन्तर्गत कारबाहीसमेत गरिएको छ ।”