• १७ जेठ २०८१, बिहिबार

हिउँदमा पूर्वानुमानअनुसार पानी नपर्दा आश्चर्यमा मौसमविद्

blog

काठमाडौं, माघ ४ गते । यस वर्षको हिउँद याममा पूर्वानुमान गरेअनुसार पानी नपरेपछि मौसमविद् मौसमबारे समीक्षा गरिरहनुभएको छ । हिउँदयाममा औषतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिए पनि सोअनुसार पानी परेको छैन । 

हिउँद याममा औषतमा ६० मिलिमिटर पानी पर्नेगरेको थियो । तर यस वर्ष अहिलेसम्म केही स्थानमा फाट्टफुट्ट मात्र पानी परेको छ । मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार यस वर्षको हिउँदयामको अहिलेसम्मको तथ्याङ्क हेर्दा देशका पहाडी भू–भागका एक–दुई  स्थानमा मात्र फाट्टफुट्ट मात्र पानी परेको छ । अपेक्षा गरिएअनुसार पानी पर्न नसक्नुको कारणको समीक्षा गर्न लागिएको उहाँले बताउनुभयो । यस वर्ष पूर्वानुमान गरिएअनुसार पानी नपर्नु मौसमविद्कै लागि आश्चर्यको विषय भएको उहाँको भनाइ छ । 

हिउँद याममा औषतमा ६० मिलिमिटर पानी पर्नेगरेको थियो । तर यस वर्ष अहिलेसम्म केही स्थानमा फाट्टफुट्ट मात्र पानी परेको छ ।

उहाँले भन्नुभयो, “हिउँदायाममा औषतभन्दा बढी पानी पर्ने आङ्कलन गरेका थियौँ, पश्चिमी वायुको प्रभाव बढी हुने आङ्कलन थियो। तर अहिलेसम्म सोचे अनुसारको बलियो प्रभाव पर्न नसकेको बारे समीक्षा गर्दैछौं ।”

उहाँका अनुसार पश्चिमी वायु नेपाल प्रवेश नगरेको भने होइन । तर, वायुको प्रभाव एकदमै नगन्य भएकाले नेपालभर यसको प्रभाव नगन्य रूपमा रहेको उहाँको भनाइ छ । 

सामान्यतया मङ्सिर १६ देखि फागुन १६ सम्मको समयलाई हिउँदयामको रूपमा लिइन्छ । अबको बाँकी अवधिमा पनि ठुलो पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । वरिष्ठ मौसमविद् पोखरेलले भन्नुभयो, “हिउँदमा अबको बाँकी समयमा पनि पश्चिमी वायुको प्रभाव त्यति बढी देखिँदैन । त्यसैले पानी पर्ने सम्भावना न्यून छ ।” 

सामान्यतया मङ्सिर १६ देखि फागुन १६ सम्मको समयलाई हिउँदयामको रूपमा लिइन्छ । 

पानी पर्नेक्रम घट्दो 

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार पछिल्ला वर्षमा हिउँदमा पानी पर्नेक्रम घट्दै गएको छ । उहाँले बताएअनुसार पछिल्लो पाँच वर्षको ट्रेण्ड हेर्दा हिउँद याममा पानी पर्नेक्रम घट्दैगएको छ । उहाँले भन्नुभयो, “गतवर्ष पनि हिउँद याममा पर्याप्त पानी परेको थिएन । यसवर्ष पनि अपेक्षा गरिएअनुसार पानी पर्न सकेको छैन । पछिल्लो पाँच वर्षको ट्रेण्ड हेर्दा पानी पर्नेक्रम घट्दै गएको देखिन्छ ।” विभागले अव भने प्रत्येक महिनाको मौसमको प्रक्षेपण गरी सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।  

तराईमा हुस्सु र तुवाँलो कायमै 

मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी वायु सक्रिय नहुँदा तराईमा हुस्सु र कुहिरो लागिरहेको छ । जसका कारण तराईमा चिसो बढेको छ ।  शीतलहर भने नलागेको उहाँले बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “पश्चिमी वायु सक्रिय भएको भए तराईमा रहेको बाक्लो हुस्सु, कुहिरो सफा हुने थियो । अहिले वायुमण्डल स्थिर छ, त्यसैले हुस्सु, कुहिरो हट्ने सम्भावना छैन ।”

मौसममा सुधारको सम्भावना

अहिले मौसममा देखिएको सामान्य बदली पर्सीबाट सुधार हुँदैजाने भएको छ । मौसमविद् अधिकारीका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भ–भागमा सामान्य वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ । तर, पर्सीबाट भने मौसममा सुधार हुँदै जाने उहाँको भनाइ छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।