• १३ साउन २०८१, आइतबार

टाइगर कप भलिबल : आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ४ गते । सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो पटक टाइगर कप भलिबलको उपाधि नजिक पुगेको छ । डिफेन्डिङ च्याम्पियन एपिएफ क्लब महिलातर्फ पोखरामा जारी पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुवन क्लबलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

टाइगर कपमा दोस्रो र तेस्रो संस्करणको च्याम्पियन एपिएफले बिहीबार सुरुका दुई सेट १९-२५ र २०-२५ ले नेपाल आर्मीलाई सुम्पिएको थियो । पछिल्ला तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्दै एपिएफले २५-१३, २५-१६ र १५-१३ ले जित हासिल गरेको हो । 

प्रतियोगितामा दोस्रो सेमीफाइन चन्द्रागिरि न्यु डायमन्ड र नेपाल पुलिस क्लबका बिच हुनेछ । अब एपिएफले महिलातर्फ उपाधिका लागि चन्द्रागिरि र पुलिसबिचको विजेतासँग खेल्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने यो प्रतियोगिता माघ ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले सामान नगद दुई लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार ट्रफीका साथमा प्रदान गरिनेछ ।

यस्तै, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र कोचलाई जनही दश हजार पाँच सय पचपन्न रुपियाँ प्रदान गरिनेछ । प्रतियोगिता गर्न एक करोड १५ लाख खर्च हुने आयोजकको अनुमान छ ।