• २४ असार २०८१, सोमबार

विपद् जोखिम न्यूनीकरण गर्न समुदाय स्तरमै सचेतना आवश्यक : मुख्यमन्त्री शर्मा

blog

२६ औँ भूकम्प सुरक्षा दिवस अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा बोल्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर : मन्त्री शर्माको सचिवालय

सुर्खेत, माघ २ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विगतमा भएका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताउनुभयो । उहाँले ‘गोरखाको वारपाकमा गएको भूकम्पबाट शिक्षा लिएको भए अहिले जाजरकोट भूकम्पको क्षति न्यून हुने थियो । विगतबाट हामीले शिक्षा लिन सकेनौ ।’ भन्नुभयो ।

२६ औँ भूकम्प सुरक्षा दिवस अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा हुने विपद् जोखिमको विश्लेषण गरी आवश्यक पूर्व तयारीमा लाग्नुपर्ने बताउनुभयो । उहाँले कुरा गरेर होइन व्यवहारिक रूपमै देखिने गरी नीति विधि र कार्यक्रम बनाएर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

‘‘कर्णाली प्रदेश प्राकृतिक विपदबाट हुन सक्ने क्षति र न्यूनीकरणका लागि आम समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र आवश्यक जनशक्ति तयार गरेर मात्र क्षति न्यूनीकरण गर्न सकिन्छ ।,’’ शर्माले भन्नुभयो, ‘‘भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न र जनचेतनामूलक कार्य अघि बढाइने छ ।समुदायको सक्रिय सहभागिताले मात्र भूकम्प लगायतका प्राकृतिक विपद्को सामना गर्न सकिन्छ ।’’

भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका कार्य अघि बढाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य भएको शर्माको भनाइ छ ।

वीरेन्द्रनगरपालिका प्रमुख मोहन माया ढकालले स्थानीय तह जनतको नजिकको अधिकार सम्पन्न सरकार भए पनि ऐन कानुनको नहुनु र सीमित स्रोत साधनका अभावले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न चुनौती भएको बताउनुभयो । उहाँले स्थानीय तहमा दक्ष जनशक्ति अभाव हुँदा विभिन्न विपद् न्यूनीकरणका कार्य गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभयो ।