• ६ जेठ २०८१, आइतबार

भूमिगत जलको दोहनलाई नियन्त्रणको विकल्प छैन: नेता सिंह

blog

काठमाडौँ, माघ १ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले काठमाडौँको मात्रै नभई देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आफू उपत्यकावासी सुलभ तरिकाले सम्पूर्णलाई पानी उपलब्ध गराएको दिन पूरा खुसी हुने बताउनु भयो । उहाँले मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभई पुनः वितरण मात्रै गरिएको स्पष्ट पार्नुभयो । काठमाडौँमा भूमिगत पानी तानेर नै मिनिरल पानी भन्दै बोतल, जार र टंकरमा बिक्री वितरण हुने गरे पनि यसको नियमन हुने गरेको छैन । दिनानु दिन पानीको हाहाकार मच्चिन थालेको छ भने तीन सय फिट भन्दा तलसम्म पानी भेटिन छाडिएको छ ।

उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ । योजना मात्रै ठुलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ । प्रधानमन्त्री ज्यु यो काठमाडौँ उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउन्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । म पूरा खुसी उपत्यकावासीलाई सुलभ तरिकाले गर्न सकेको दिनमा हुनेछु । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।’

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठुलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताउनु भयो ।