• ६ जेठ २०८१, आइतबार

जलविद्युत आयोजनाले गाउँको स्वरूप बिग्रने खतरा

blog

आयोजना निर्माण हुने चिमखोला गाउँ । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलावासीहरुले गाउँको स्वरूप नै बिग्रने गरी जलविद्युत आयोजना नबनाउन माग गरेका छन् । चिमखोला गाउँ भएर बग्ने बगर खोलामा मोना हाइड्रोपावर कम्पनीले साढे पाँच मेगावाट क्षमताको बगर खोला जलविद्युत आयोजना निर्माणको तयारी थालेपछि स्थानीयहरूले विरोध जनाएका हुन ।  

कम्पनीले आयोजना निर्माणको तयारी थालेपछि चिमखोलाका स्थानीयवासीहरुले गाउँ र खोलाको स्वरूप बिगारेर जलविद्युत आयोजना निर्माण गर्न नहुने भन्दै विकल्प खोज्न निर्माण कम्पनीलाई अनुरोध गरेका छन् । 

गाउँ नजिक खोला सुकाएर निर्माण गर्न प्रस्ताव गरिएको उक्त आयोजनाले वातावरणीय र प्राकृतिक स्वरूपमा प्रतिकुल प्रभाव पार्ने भन्दै गाउँको भेलाले आयोजना अघि बढाउन नदिने निर्णय गरेको वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो । आयोजनाले स्थानीयवासीहरु सँग कुनै छलफल समेत नगरी आयोजना निर्माण गर्न खोजेको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो, ‘‘हामीले जलविद्युत आयोजना निर्माण हुन दिन्नौँ भनेका छैनौँ, तर गाउँ र खोलाको स्वरूप बिगारेर आयोजना बनाउन हुँदैन । यसको विकल्प खोज्नुपर्दछ भनेका छौँ ।’’ गाउँको नजिकबाट बग्ने खोलाको पानीलाई सुकाएर जलविद्युत निर्माण गर्दा बगर खोलाको अस्तित्व समाप्त हुने र गाउँको फेदीतर्फ विद्युत गृह बनाउँदा गाउँको प्राकृतिक स्वरूप बिग्रने वडाध्यक्ष पाइजाले बताउनुभयो । 

‘गाउँको छेउमा रहेको धमाखु खेलमैदान देखी माथि रहेको कुकुर भुक्ने स्थानतर्फ विद्युत गृह रहने गरी आयोजना बनाउन विकल्प दिएका छौँ ’ उहाँले भन्नुभयो । मोना हाइड्रोपावर कम्पनीले  स्थानीय बासीले प्रभावित क्षेत्रका सरोकारवालाहरूलाई जानकारी समेत नदिई कन आयोजना अगाडी बढाउन खोजेको भन्दै स्थानीयहरूले गुनासो समेत गरेका छन् । 

बगर खोला जलविद्युत आयोजनाको विद्युत् उत्पादन अनुमति लिएको कम्पनीले काम अघि नबढाएको कारण खारेजीको अवस्थामा पुगेपछि आयोजनालाई अघि बढाउन लागेको कम्पनीका अध्यक्ष चक्र थापाले बताउनुभयो । प्रवासी म्याग्देलीहरुको नेतृत्वमा आयोजनालाई अघि बढाउन लागिएको बताउँदै आयोजना बनाउन सकारात्मक सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । 

बगर खोला जलविद्युत् आयोजनाको हालै (पीपीए) विद्युत् खरिद बिक्री सम्झौता समेत भएको थियो । नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत् उत्पादन गर्ने कार्य योजनासहित बगर खोलाको प्रवर्द्धक मोना हाइड्रोपावरले हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० प्रतियुनिटका दरले विद्युत् खरिद बिक्री गर्ने सम्झौता गरेको थियो । दुई किलोमिटर सात सय मिटर पेनस्टक पाइप लाइनबाट ल्याएको पानीबाट उत्पादन हुने विद्युत् रघुगंगा गाउँपालिका–३ मा निर्माणाधीन राहुघाट सबस्टेशन मार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रस्ताव गरिएको छ ।