• ६ जेठ २०८१, आइतबार

सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा

blog

चापाकोट नगरपालिका ।

राधाकृष्ण डुम्रे

वालिङ, पुस २६ गते । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन पालिकाले यस्तो नीति ल्याएको नगरप्रमुख देवबहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । 

पालिकाका १० वटै वडामा रहेका सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बिमा लागु गर्न लागिएको उहाँले बताउनुभयो । विद्यालयमा आकर्षणसँगै पढाईको गुणस्तरमा ध्यान दिन सुरु गरेको भन्दै नगरप्रमुख खाँणले सरकारी लगानी भएका सामुदायिक विद्यालयलाई प्रभावकारी बनाउने बताउनुभयो । 

आगामी बैठकबाट यस्तो नीति लागु गर्नका लागि कर्मचारी र जनप्रतिनिधिहरुसँगको छलफल सम्पन्न गरेको पालिकाले जनाएको छ । कसरी अगाडि जाने भन्नेमा स्पष्ट खाका तयार हुनेछ र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयाे । 

नगरपालिकाले यसअघि नै विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताउनुभयो । नगर पालिकाले यसै शैक्षिक सत्रदेखि यस्तो नीति कार्यान्वयनमा ल्याउने उहाँले जानकारी दिनुभयो । 

सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रमलाई पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख खाँणको भनाइ छ ।  

नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चार हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।