• ६ जेठ २०८१, आइतबार

ओझेलमा थोङरो प्ली झरना

blog

मनाङको नासोँ गाउँपालिका–८, ताचैमा रहेको थोङरो प्ली झरना ।

यदुप्रसाद भट्ट

मनाङ, पुस २६ गते । मनाङको नासोँ गाउँपालिका–८, ताचैमा रहेको थोङरो प्ली झरना ओझेलमा परेको छ । स्थानीयवासीले पर्यटकीय महत्त्व बोकेको यस झरनालाई प्रवर्द्धन गर्नुपर्ने माग गरेका छन्।

पर्यटकहरू हिमाल, पहाडका दृश्य, उच्च पहाड, ताल, झरना, मनाङीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका लागि मनाङ आउँछन् । धेरैजसो पर्यटक सिधै जिल्ला सदरमुकाम चामे भएर तिलिचो ताल जान्छन् । प्रवेशद्वारकै मुखैमा रहेको भएपनि प्रचारप्रसार अभावले यो थोङरो प्ली झरना ओझेलमा परेको स्थानीय युवा यज्ञ घलेले बताउनुभयो । उहाँले यसको प्रचारप्रसार गरी देशविदेशसम्म पुर्‍याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेमा आशावादी रहेको बताउनुभयो ।

मुलुकमा लोकतन्त्र गणतन्त्र आयो केही परिवर्तनका सूचकहरू पनि देखिए तर यो महत्त्वपूर्ण पर्यटकीय स्थलप्रति सरकारको ध्यान जान नसक्दा ओझेलमा परेकाले स्थानीयहरू चिन्तित बनेका वडा नम्बर ८ का वडाध्यक्ष याद घलेले बताउनुभयो । 

"ताचै गाउँको शिरमा रहेको सुन्दर झरनाबाट आठ वटा गाउँ देख्न सकिन्छ", वडाध्यक्ष घलेले भन्नुभयो, "पर्यटन मन्त्रालयबाट केही बजेट लिएर स्ट्रक्चर तथा रेलिङ बनाउने कार्य भएको छ । अझै बाटो पुर्‍याउने कार्य अधुरो नै छ ।" उहाँले यसलाई दृश्यावलोकनको केन्द्र बनाएर गाउँमा आन्तरिक पर्यटक भित्र्याउने कार्य भइरहेको जानकारी दिनुभयो । वडा नं. ८ का स्थानीयको जीवनस्तर उकास्ने हेतुले कार्य गरिरहेकोमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, "तल सुन्दर गाउँबस्ती यसको शिरमा झरना यही हो ताचैको पहिचान ।"

होमस्टे पनि रहेको ताचैमा कसैको ध्यान नजानु दुःखद कुरा हो । वडाध्यक्ष घलेले भन्नुभयो, "पालिकाको बजेटले केही गर्न सकिँदैन । सङ्घीय सरकार यसको विकास विस्तार तथा प्रवर्द्धनमा लाग्नुपर्छ, हाम्रो जोडदार माग पनि छ । यसको विकास विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिका मात्र होइन मुलुकलाई नै फाइदा पुग्छ । हुन त अहिले बाह्य पर्यटक ठप्पजस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी आएको छैन ।"

अन्नपूर्ण पदमार्गमा सन् २०२३ मा २१ हजार २ सय ४७ विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९ सय ८१ पुरुष र ८ हजार २ सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानी मनाङले जनाएको छ । 

एक्याप धारापानी केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले आन्तरिक पर्यटकको कुनै तथ्याङ्क नराखिएको बताउनुभयो । उहाँका अनुसार पर्यटकीय सिजनमा बाह्य भन्दा आन्तरिक पर्यटक नै बढी आउँछन्। यिनै आन्तरिक पर्यटकमध्ये १० प्रतिशत मात्रैलाई पनि थोङरो प्ली झरना लैजान सके ताचैको मुहार फेरिने थियो ।