• ६ जेठ २०८१, आइतबार

तनहुँ जलविद्युत आयोजनाद्वारा मादी नदीमा माछा संरक्षण

blog

व्यास नगरपालिका-६ र ७ सिमाना बग्दै गरेको मादी नदी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस २६ गते । यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदीमा माछा संरक्षण गर्ने भएको छ । आयोजनाको १४० मिटर अग्लो बाँधले गर्दा आवातजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण गरिने आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमानामा पर्ने सेती नदीमा बन्ने बाँधले गर्दा सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई जलचर प्रभावित हुने भएकाले संरक्षण कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला र शहर प्रजातिका माछाको जीवन जोखिममा पर्ने देखिएकाले यसको क्षतिपूर्तिस्वरुप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको आयोजनाका प्रमुख राजाभाइ शिल्पाकारले बताउनुभयो । 

नेपालका रैथाने असला र शहरलाई लोपोन्मुख तथा सङ्कटापन्न माछाको प्रजातिका रुपमा लिइन्छ । योजना मुख्यरुपमा सेती र मादी नदीको सङ्गमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा कार्यान्वयन गरिनेछ । योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखहरु, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्षहरु, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन गरिएको छ । 

मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाहरुको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था बमोजिम समिति गठन गरिएको हो । जलचर संरक्षण ऐन, २०१७ मा भएको व्यवस्था बमोजिम माछा संरक्षण योजना व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याइने आयोजनाले जनाएको छ । माछा संरक्षण समन्वय समितिका संयोजक एवम् व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षमा मङ्गलबार बसेको बैठकले असारदेखि भदौसम्म माछाको प्रजनन समय हुने हुँदा उक्त अवधिभर मादी नदीमा माछा मार्न प्रतिबन्ध लगाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकबाट मादी नदीमा माछा संरक्षणसम्बन्धी सचेतना कार्यक्रम स्थानीय एफएम रेडियो, टेलिभिजनजस्ता आमसञ्चार माध्यमबाट प्रसारण÷प्रकाशन गर्ने र सार्वजनिक ठाउँहरुमा सन्देशमूलक बोर्डहरु राख्ने निर्णय भएको छ । व्यास नगरपालिका ३, ४, ५, ६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्रमा मान्ने निर्णयसमेत बैठकले गरेको छ । हिमालबाट बगेर आएका मादी र सेती दमौलीमा आएर मिसिएको छ ।