• ६ जेठ २०८१, आइतबार

रोजगारी बढाउन २२ वटा गौरवका आयोजना

blog

दमौलीस्थित व्यास नगरपालिकाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, पुस २६ गते ।
 तनहुँको व्यास नगरपालिकाले आन्तरिक आय  र रोजगारी वृद्धि गर्ने उद्देश्यले गौरवका आयोजना सञ्चालन गर्ने आवधिक योजना बनाएको छ । पालिकाभित्र रहेका १४ वटा वडाहरूमध्ये एक वडा कम्तीमा एक योजना पर्ने योजना छनोट गरिएको छ । पाँच वर्षका लागि बजेटसहितको कार्यक्रम र २० वर्षसम्मका दीर्घकालीन योजना समावेश गरेर योजना बनाइएको नगरपालिकाले जनाएको छ ।

मादी नदीमा ताल, नगरका धार्मिक तथा पर्यटकीय गन्तव्य जोड्ने कोरिडोर तथा शैक्षिक हब निर्माण गर्ने योजनामा उल्लेख छ । पर्यटन प्रवर्द्धन, कृषिमा प्रोत्साहन गरी रोजगारीका अवसर सिर्जना हुने २२ वटा योजना बनाइएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

नगर प्रमुख न्यौपानेका अनुसार पहिलो नम्बरमा मादी नदी उपत्यका विकास परियोजनालाई गौरवको आयोजनामा समावेश गरिएको छ । यस आयोजनाले वडा ३, ४, ५, ६, ७ र १० समेटेको छ । वडा नम्बर ३ मा पर्ने व्यास अवतरण भूमिमा व्यासको १०८ फिटको मूर्ति, पार्क तथा सङ्ग्रहालय निर्माणलाई समावेश गरिएको छ । तेस्रोमा वडा नम्बर १० पर्ने नारेश्वर ताल निर्माण तथा पर्यटकीय स्थल विकास रहेको छ ।

चौंथोमा वडा नम्बर १ लाई आदिकवि भानुभक्त क्याम्पसका लागि शैक्षिक हब निर्माणलाई समावेश गरिएको छ । पाँचौँमा वडा नम्बर १० मा वैरेनी जग्गा विकास योजना राखिएको छ । यसैगरी, वडा नम्बर ४ मा शहीद कालिका जङ्गलपार्क निर्माण, वडा नम्बर ७, ९, १० र ११ मा पर्ने पराशर मार्ग, वडा नम्बर ११ मा खड्गकाली मार्ग, वडा नम्बर ७ र ८ मा कालिका मार्ग, वडा नम्बर १३ र १४ को लागि दमौली केशवटार मार्गलाई गौरवका आयोजनामा छनोट गरिएको छ । यसैगरी, माहेन्द्री मार्गअन्तर्गत–वडा ५ र ६ लाई समावेश गरिएको छ ।

वडा नम्बर १३ लाई सुन्तला पकेट क्षेत्र विकासका लागि गौरवको आयोजनामा छनोट गरिएको छ । यसैगरी छाब्दी मन्दिर क्षेत्र विकासअन्तर्गत वडा १२, १३ र १४ लाई समावेश गरिएको छ । मानहूँकोट, तनहूँसुर, गलेखामकोट, कुलुङ पर्यटन विकासमा वडा ५, ११, ६ र १४ लाई समावेश गरिएको छ । साँगेफॉट, कलेस्तीफॉट, नरङ्गाफाँट, शिसाघाट फाँट धान पकेट क्षेत्र विस्तार वडा ५, ७ र ६ लाई समेटिएको छ । कोलढुङ्गा क्रिकेट मैदान, चिन्तुटार रङ्गशाला, बिपी वन वाटिका, पराशर खेलकुद मैदान विस्तारलाई गौरवको आयोजनामा समावेश गरिएको छ । झाँक्रीथान खेलकुद तथा पर्यटन पार्कअन्तर्गत वडा नम्बर ११, ६, ३, ५ र १३ लाई समावेश गरिएको छ । वडा नम्बर १० मा गौ संरक्षण केन्द्र व्यवस्थापनलाई समेटिएको छ ।

सहरी क्षेत्र भित्र एकीकृत नाली निर्माण÷मर्मतअन्तर्गत १, २, ३ र ४ सुधार र प्रशोधन केन्द्र निर्माण रहेको छ । बस्ती विकास तथा ड्रागन फ्रुट तथा नगदे बालीहरूको पकेट क्षेत्र कार्यक्रमलाई गौरवको आयोजनामा राखिएको छ । वडा नम्बर १० र ११ मा राम्चे क्षेत्रमा पर्यावरण संरक्षण कार्यक्रमलाई राखिएको छ ।

दुलैपानी झोलुङ्गेपुल क्षेत्रमा पर्यटकीय क्षेत्र विकासलाई वडा ६ र ७ मा समावेश गरिएको छ भने सदरमुकाम दमौली सहरी क्षेत्रका खोल्सी, दमौली सहरी क्षेत्र तथा वडा केन्द्रहरूमा हरित पट्टी निर्माण एवम् सौन्दर्यीकरण कार्यक्रम राखिएको छ । गौरवका आवधिक योजनाहरू छनोट गरी बुधबार गरिएको नगरपालिकाको ४० औँ नगर सभामा प्रस्ताव पेस गरी पास गरिएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो ।

सरकारी तवरबाट मात्रै गौरवका योजना सम्पन्न गर्न नसकिने भएकोले निजी क्षेत्रको पनि सहभागिता हुने गरी सरकारी–निजी साझेदारी ऐन समेत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।