• १३ असोज २०८१, आइतबार

तीन जनालाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

blog

रामेछाप समाचारदाता

रामेछाप, पुस २६ गते । रामेछापका विभिन्न स्थानमा व्यावसायिक कृषिकर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत भएका छन् ।जिल्लाको गोकुलगङ्गा गाउँपालिका–३, रस्नालुमा किवी खेती र व्यवसाय गरिरहेको सप्तभुमे एग्रो एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक लक्ष्मण केसी, खाँडादेवी गाउँपालिका–५, पकरबासका व्यावसायिक बाख्रापालक कृषक हेमबहादुर खत्री र गोकुलगङ्गा गाउँपालिका–५ मा लेयर्स कुखुरापालन गरिरहेको एग्रो टेक प्रालिका मेघराज खड्का जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । 

तीनै जना कृषकलाई कृषि ज्ञान केन्द्र रामेछापले मन्थलीमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको छ । जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि छनोट भएका कृषकलाई १० हजार रुपियाँ नगदसहित सम्मान गर्नुभयो । 

जिल्ला कृषि विकास समन्वय समितिले बनाएको जिल्लास्तरीय उत्कृष्ट कृषक छनोट विधि अनुसार उत्कृष्ट ठहरिएका कृषकलाई पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुनले बताउनुभयो । “यो पुरस्कारका लागि जिल्लाभरबाट २२ वटा प्रस्ताव दर्ता भएका थिए । तीमध्ये तीन कृषकलाई जिल्ला कृषि विकास समन्वय समिति रामेछापले बनाएको मूल्याङ्कनका ११ वटा मापदण्ड अनुसार छनोट गरिएको हो,” उहाँले भन्नुभयो । 

पुरस्कार प्राप्त गर्ने सप्तभुमे एग्रो एन्ड रिसर्च सेन्टर प्रालिले गोकुलगङ्गा गाउँपालिका–३ मा २०७४ सालदेखि किवी खेती गरिरहेको छ । अहिले छ सय रोपनीभन्दा बढी जमिनमा विभिन्न जातका किवी खेती गरिरहेको यो फार्मले ११ जनालाई पूर्णकालीन र ६० जनालाई अल्पकालीन रोजगारी प्रदान गरिरहेको सञ्चालक लक्ष्मण केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो फार्मबाट उत्कृष्ट किवी उत्पादन गरी देशलगायत अन्तर्राष्ट्रियस्तरमा पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । सबैको साथ भएमा यो सम्भव छ ।” 

अहिले आफ्नो खोरमा माउ, पाठापाठी, खसी, बोका गरी एक सय वटाभन्दा बढी विभिन्न जातका बाख्रा रहेको पुरस्कृत अर्का कृषक हेमबहादुर खत्रीले बताउनुभयो । खाँडादेवी गाउँपालिका–५, पकरबासमा रहेको यो फार्मबाट अहिले चार जनाले पूर्णकालीन र तीन जनाले अल्पकालीन रोजगारी पाएको उहाँको भनाइ छ । “बाख्रापालन व्यवसाय राम्रै भइरहेको छ । अहिले खोरमा १२० केजीसम्मको बोयर जातको बोका छ । आफ्नो कामको मूल्याङ्कन गरी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाउँदा निकै खुसी छु,” उहाँले भन्नुभयो । 

आठ वर्ष कोरियामा रोजगारी गरेर फर्किएपछि आफ्नै ठाउँमा कृषिकर्मबाट केही गर्ने उद्देश्यले गोकुलगङ्गा गाउँपालिका–५ मा व्यावसायिक रूपमा लेयर्स कुखुरापालन गरिरहेको फुलपिङ एग्रो टेक प्रालिका मेघराज खड्काले बताउनुभयो । अहिले अन्डा दिने दुई हजारभन्दा बढी लेयर्स कुखुरा रहेको आफ्नो व्यवसायबाट पाँच जनाले पूर्णकालीन रोजगारी पाएको उहाँको भनाइ छ ।