• ११ मंसिर २०८१, मङ्गलबार

पूर्वी नवलपरासीमा आठ करोडको सुन्तला बिक्री

blog

मीना कँडेल
कावासोती, पुस २३ गते ।
पूर्वी नवलपरासीमा यस वर्ष सुन्तलाको बिक्रीबाट राम्रो आम्दानी भएको छ । नवलपुरमा सुन्तला खेती गर्ने किसानले यस वर्ष आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला बिक्री गरेकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी रणबहादुर महतोले बताउनुभयो ।

गत वर्ष २०७९/८०मा एक हजार २५० मेट्रिकटन सुन्तला उत्पादन भएको यसबाट सात करोड ५० लाख बराबरको आम्दानी भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७५/७६ सञ्चालनमा आएपछि नवलपुरमा हाल आठ सय १८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रम अन्तर्गत एक सय ३२ हेक्टरमा उत्पादन राम्रो हुने गरेको छ । जहाँ प्रतिहेक्टर १० हजार मेट्रिकटन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताउनुभयो ।

नवलपुरको बौदिकाली, बुलिङटार गाउँपालिका, गैँडाकोट वडा नं १८ यसैगरी हुप्सेकोट वडा नं ५, देवचुली वडा न ६, मध्यबिन्दु ८, १५ वडा गरी १७ वटामा सुन्तला जोन कार्यक्रम लागू भएको छ । पहिले सामान्य रुपमा सुन्तला लगाउने किसानले जिल्लामा सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेपछि यसतर्फ आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सिंहले बताउनुभयो । गत वर्षभन्दा जिल्लामा यस वर्ष ७.८६ प्रतिशतले उत्पादन वृद्धि भएको छ । अहिले नवलपुरमा एक हजार ३४६ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ । कात्तिकदेखि हाल सम्म पचास क्विन्टल सुन्तला बिक्री गरी छ लाख ५० हजार आम्दानी गरेको सीता भुर्तेलले बताउनुभयो । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू नभएका केही स्थानमा सुन्तला खेती हुने गरेको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।

बौदीकाली–५, बबकका गेसबहादुर राना यसपटक सुन्तला उत्पादनमा वृद्धि भएको र राम्रो आम्दानी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बबकमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुगेर खरिद हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।”

जिल्लामा उत्पादन भएको सुन्तलाको बजारीकरण ठूला शहरहरु हुने गरेको छ । स्थानीय बजारसहित नारायणगढ, काठमाडौंमा जिल्लाबाट उत्पादन भएको सुन्तला खपत हुँदै आएको उहाँको भनाइ छ । जिल्लामा उत्पादन भएको सुन्तलाबाट यहाँका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् ।