• १३ मंसिर २०८१, बिहिबार

दुधको बजार सहज बनाउन किसानको माग

blog

किसानका तर्फबाट सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै सूर्योदय नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राई । तस्बिर: कोकिला

कोकिला ढकाल

इलाम, पुस २३ गते । सरकारी बेवास्ता गरेकाका कारण किसानले उत्पादन गरेको दुध र दुग्धजन्य वस्तुहरूको बिक्री बन्द हुने अवस्था रहेको भन्दै इलामका किसानहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

गएको वैशाख महिना यता जिल्लामा सञ्चालित चीज र डेरी उद्योगहरूमा दूधबाट उत्पादित चीज तथा घिउ त्यसै थन्किएको र यसको बजार सहज नहुँदा अहिले दैनिक उत्पादन हुने दूध नै बिक्री नहुने अवस्था रहेको व्यवसायीले बताएका छन् । जिल्लाको सबैभन्दा बढी दुध उत्पादन हुने क्षेत्र सूर्योदय नगरपालिकाका किसान र व्यवसायीहरूले स्थानीय सरकारलाई दुधको बजार सहज बनाउन ध्यानाकर्षण पत्र नै बुझाएका छन् । उनीहरूले स्थानीय सरकारमार्फत तीनै तहका सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गराएका हुन् ।

नगरपालिका स्थित राष्ट्रिय महासङ्घ नेपाल, उद्योग वाणिज्य सङ्घ, एलाइन्स फरएग्रो इन्टरप्रेनर्स र हिमालयन चीज उत्पादक सङ्घले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै भारतबाट आयात हुने दुध भन्दा कम मूल्यमा दुधको उत्पादन गर्ने वातावरण बनाएर बजार सहज बनाउनु पर्ने उल्लेख गरेका छन् । यस्तै ध्यानाकर्षण पत्रमा सूर्योदय नगरपालिकामा मात्रै दैनिक उत्पादन हुने करिब ६० हजार लिटर दूधको विक्री र मूल्य भुक्तानीको व्यवस्था सहज माग गरिएको छ ।  हाल स्टक रहेको ३७ हजार किलो घिउ, ४८ हजार किलो डगच्यु (छुर्पी) र जिल्लाभर उत्पादन भएको ९३ हजार किलो चीज विक्रीका लागि व्यवस्था गर्न किसान, उद्यमीको माग रहेको छ । 

जीवनयापनको आधार कृषि भएको मुलुकको ७५ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेको र इलाम कृषि तथा पशुपालन उद्योगमै निर्भर रहेको जिल्ला भए पनि जीवनयापनको आधार सङ्कटग्रस्त भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । लम्पी स्किन रोगको खोप कार्डबिना किसानले गाईको बिमासमेत नगर्ने भएकाले पशु बिमा सहज बनाउन आवश्यक समन्वय गरिदिन र खोरेतमुक्त क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न माग गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । उत्पादित दूधमध्ये दैनिक आठ हजार लिटर दूध दुग्ध वितरण आयोजना विराटनगर जाने गरेको छ । निजी क्षेत्रले करिब दैनिक ५३ हजार लिटरको दूध खपत गर्दै आएको जनाइएको छ । जिल्लामा सञ्चालित १८  चीज कारखानाले दैनिक २७ हजार लिटर दूध सङ्कलन तथा प्रशोधन गर्दै आएका छन् । स्थानीय स्तरमा चलेका डेरी उद्योगहरूले छुर्पी, ललिपप, बम्बैसनजस्ता मिठाई बनाउन दैनिक १८ हजार लिटर दूध खपत गर्नै गरेका छन् ।  जिल्लामा १८ चीज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ । 

तर, सरकारी दर अनुसार गुणस्तरीय दुधको मूल्य ७० रुपियाँ रहेको भए पनि अहिले ४० देखि ५० रुपियाँमा मात्रै दूध बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान बताउँछन् ।